Header Ads


एमालेसँग पार्टी एकता गर्ने तयारीमा रहेको माओवादी केन्द्रका केही नेताहरु एकता प्रक्रियामा सहभागी नहुने भएका छन्। एमालेसँगको एकतालाई कम्युनिस्ट आन्दोलनको विसर्जन बताउँदै उनीहरुले छुट्टै पार्टी निर्माणको तयारी समेत सुरु गरेका छन्।

पार्टी एकता प्रकृयामा असहमत र छुट्टै पार्टी निर्माणको योजनामा लाग्नेहरुमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल (आहुति), प्रदेश–१ का इञ्चार्ज एवं स्थायी समिति सदस्य गोपाल किराँती, पोलिटब्युरो सदस्य बलराम तिमिल्सिना, युवानेता जागृत रायमाझी लगायत छन्।

आहुतिका भनाईमा, पार्टी एकता गर्ने निर्णय एमाले र माओवादी केन्द्रका केही नेताहरुको निरंकुशता बाहेक केही होइन। ‘एकता गर्ने भनिएका पार्टीहरु विगतमा एक आपसमा लड्दै आएका हुन्’ उनले भने, ‘एकता गर्ने हो भने लामो वैचारिक बहस हुनुपथ्र्याे। तर अहिले कार्यकर्तालाई सोच्न समेत नदिई अप्राकृतिक ढंगले एकता गर्न खोजिएको छ।’

उनले पार्टी एकतालाई कम्युनिस्ट आन्दोलनको विसर्जन भएको टिप्पणी गरे। ‘माओवादीले राख्दै आएको अडानमा एमालेको प्रष्ट धारणासमेत नआई एकता गर्नु भनेको कम्युनिष्ट आन्दोलनको विसर्जनका लागि हो’ उनले भने, ‘म यस्तो एकतामा संलग्न हुने पक्षमा छैन, कम्युनिष्ट आन्दोलन निर्माणका लागि छुट्टै छलफलको तयारी गर्दैछु।’

पोलिटब्युरो सदस्य बलराम तिमिल्सिना पार्टी एकताप्रति आफूहरुको दार्शनिक, वैचारिक र राजनीतिक रुपमा नै फरक मत रहेको बताउँछन्। ‘यो एकताले माक्र्सवादको आधारभूत सिद्धान्तको उल्लंघन गर्छ, म लागेकै पार्टी एमाले भएको मलाई थाहा भएनछ’ तिमिल्सिनाले भने, ‘माक्र्सवादको आधारभूत सिद्धान्त उल्लंघन गर्नुहुँदैन भन्ने हामीहरु यतिबेला साँच्चिकै छट्पटाएका छौं।’

एमालेसँग पार्टी एकता नभएको अवस्थामा पनि माओवादीभित्रै बसिराख्ने वा फरक पार्टी बनाउने भन्नेमा निश्कर्षमा पुगिनसकेको बताउने तिमिल्सिनाको भनाइमा एमाले–माओवादी एकता भएनछ भनेपनि त्यो सैद्धान्तिक कारणले होइन, पद मिलानका कारण नहुने हो। उनी भन्छन्, ‘एकता नभएको खण्डमा महाधिवेशनको माग वा अलग पार्टी बनाउने भन्नेमा धारणा बनाइसकेका छैनौं।’

दुलाल, तिमिल्सिना लगायतका नेताहरुको एकताप्रति असन्तुष्टी पछिल्लो समयमात्र सार्वजनिक भएको हो। तर माओवादीकै अर्का नेता गोपाल किराँतीले भने एकताको निर्णय लगत्तै असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्। पार्टी एकताका सम्बन्धमा राष्ट्रिय सभागृहमा २१ असोजमा राखिएको पोलिटब्यूरो तथा प्रशिक्षण कार्यक्रमसमेत उनले बहिस्कार गरेका थिए।

राष्ट्रिय सभागृहको बैठकमा किराँती अनुपस्थित भएपछि अध्यक्ष प्रचण्डले किराँतीले बार्गेनिङ गरिरहेको र छिट्टै कुरा मिल्ने दावी गरेका थिए। ‘गोपाल किराँतीले मलाई ठाउँ दिनुपर्‍यो भन्नुभएको छ’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँले पार्टी भत्काउनुहुन्न, उहाँलाई ठाउँ दिने विषयमा फेरि कुराकानी हुन्छ र मिल्छपनि।’

त्यसपछि किराँतीले २३ असोजको पार्टी सचिवालय बैठकपछि आफ्नो सरोकार सम्बोधन भएको भन्दै पार्टी भित्रै डटेर ‘अन्तर पार्टी संघर्ष’ गर्ने बताएका थिए। अहिले किराँतीले फेरि असन्तुष्टी पोख्न थालेका छन्।

Post a Comment

Previous Post Next Post