हप्तामै करिब डेढ सय किलो सुन अवैध आयात भइरहेको खुलासा, रेमिट्यान्सबापत आउने विदेशी मुद्रामा उल्लेख्य गिरावट
- मनबहादुर बस्नेत
पुस तेस्रो साताको सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शार जहाँबाट ठूलो परिमाणमा सुन भित्रिँदै छ भन्ने सूचना आयो, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा । त्यसपछि ब्युरोले तत्कालै सादा पोसाकमा टिम परिचालन गरेर विमानस्थलमा निगरानी बढायो । २० पुसको राती करिब साढे ८ बजे सुन बोकेर आउने भनिएका दुई जना व्यक्ति संयुक्त अरब इमिरेट्सको शारजहाँबाट आएको एअर अरेबियाको विमानबाट ओर्लिए तर रित्तो हात । उनीहरूसँग लगेज थिएन । ती दुवै जना ट्याक्सी चढेर कोटेश्वर पुगे । प्रहरीका अनुसार कोटेश्वरमा सुन बोक्ने व्यक्तिको गर्लफ्रेन्डको घर थियो । राती १२ बजेसम्म प्रहरी टोली निगरानी राखेर फर्कियो । अनि, फेरि बिहान ५ बजे नै पुग्यो, कोटेश्वर ।
भोलिपल्ट अर्थात् २१ पुसको बिहान १० बजेतिर ती दुवै जना विमानस्थलतिर लागे । विमानस्थलभित्र छिरेको करिब तीन घन्टापछि कालो रङका दुईवटा सुटकेस गुडाउँदै निस्किए । अनि, पार्किङ क्षेत्रबाटै ट्याक्सी चढेर बाहिरिए । विमानस्थलको गोल्डेनगेटबाट निस्किएर दायाँ मोडिनासाथै प्रहरीले एक जनालाई समात्यो, दिउँसो १ बजेर २१ मिनेटमा । अर्काचाहिँ ट् याक्सीबाट झरेर भागे । करिब ३४ किलो सुनसहित समातिनेमा थिए, बाँके जिल्ला घर भएका गोपालबहादुर शाही । उनी विमानस्थलबाट सुन भरिएका सुटकेस लिएर दिनबन्धु थापा र सन्तोष काफ्लेलाई पुर्याउन जाँदै थिए । प्रहरी कब्जामा रहेका शाहीले थापा र काफ्लेलाई सुन लिन बोलाएपछि उनीहरू डाइहाट्सुको टेरियस गाडीमा आइपुगे । त्यही बेला उनीहरू पनि समातिए ।
सीआईबीले पक्राउ परेकाहरूको बयान समेत लिन पाएको थिएन, ब्युरोका निर्देशक एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालको मोबाइलमा फोन आयो
‘हेलो सर नमस्कार !’
‘नमस्कार !’
‘म एअरपोर्ट भन्सारबाट । सरहरूले समात्नुभएका व्यक्तिलाई भोलि (२२ पुस) अलि चाँडै बुझाइदिनोस् है । दिन छोटो छ । फेरि यता पनि प्रक्रिया लामै हुन्छ,’ भन्सारका कर्मचारीले सिलवाललाई भने । भोलिपल्ट ११ बजेसम्म अभियोगीलाई भन्सारमा नपुर्याएपछि त्यहाँबाट फेरि सीआईबीमा सोधियो । त्यतिबेलासम्म सीआईबीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीनै जना विरुद्ध संगठित अपराधमा मुद्दा चलाउने गरी ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने मार्गप्रशस्त गरिसकेको थियो ।
वार्षिक १८ अर्बको तस्करी
समातिएकाहरूको बयानबाट नेपालमा अवैध सुनको डरलाग्दो कारोबार हुने गरेको तथ्य खुलेको छ । त्यस अनुसार पहेँलु धातुको यस्तो कालो धन्दा दुई वर्षदेखि चलिरहेको र हप्तामै करिब डेढ सय किलोसम्म सुन हवाई मार्गबाट मात्रै नेपाल छिरिरहेको छ । र, कारोबारीहरू यो सुन भारत पुर्याएर मनग्य मुनाफा कमाइरहेका छन् ।
पक्राउ परेकाहरूको बयान अनुसार यूएईबाट नेपालमा सुन पठाउने तीनवटा समूह सक्रिय छन् र तीनैवटाका अलग–अलग साझेदार नेपाल र भारतमा छन् । एकपटकमा ३० देखि ५० किलोसम्म सुन आउँछ । औसत ४० किलोकै हिसाब गर्दा पनि तीन खेपमा हप्ताको १ सय २० किलो सुन तस्करी भएर आइरहेको छ । डरलाग्दो त के भने सुनको यो आँकडा महिनामा ३६ क्विन्टलभन्दा माथि चढ्छ । ७ माघको मूल्य अनुसार काठमाडौँमा एक किलो सुनको अहिले ४७ लाख ३३ हजार रुपियाँ पर्छ । यस अनुसार महिनामा डेढ अर्ब रुपियाँ र वर्षमा १८ अर्ब रुपियाँभन्दा बढीको अवैध सुन नेपाल भित्रिन्छ ।
हवाई मार्गबाट अवैध सुन भित्र्याउने गिरोह फेला परेको नौ दिनपछि नै चीनबाट तस्करी गर्ने अर्को समूहलाई महानगरीय प्रहरी वृत्त बालाजुले १५ किलो सुनसहित समात्यो, १ माघमा । त्यही दिन महानगरीय प्रहरी अपराध महाशाखाले थानकोटबाट करिब पाँच करोड रुपियाँ बराबरको अवैध विदेशी मुद्रा बरामद गरेको थियो । प्रहरीले सुन किन्नकै लागि विदेशी मुद्रा चीन लैजान लागेको हुन सक्ने अनुमान गरे पनि त्यस्तो ‘ लिंक’ फेला पारिसकेको छैन । “विदेशी मुद्रा पठाएर सुन ल्याउने परिपाटी पुरानै हो । यो पनि त्यही कारोबारको हुन सक्छ,” महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन् ।
गन्तव्य भारत
यूएईमा सुनको खरिद जति पनि गर्न र संसारमा जहाँ पनि लैजान छुट छ । त्यहाँ कर नलाग्ने भएकाले सुन सस्तो पनि छ । र, यही कारण त्यहाँबाट आएको सुन नेपाल भएर भारत पुगिरहेको छ । तस्करीको केही सुन नेपालमै पनि खपत भइरहेको छ ।
७ माघको मूल्य अनुसार भारतमा भन्दा यूएईमा प्रति १० ग्राम सुन चार हजार रुपियाँ सस्तो छ । त्यसैले तस्करी भएको करिब ९० प्रतिशत सुन भारत पुग्छ । भारत सरकारले हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग उच्च छ । पहिले गैरकानुनी आर्जन लुकाउन हजार र पाँच सय दरका नोट जम्मा गरिन्थ्यो भने नोटबन्दीपछि भारतमा त्यसको बदला सुन किन्ने प्रवृत्ति व्यापक भएको छ । त्यही भएर भारतीयहरूले दोब्बर मूल्यमा पनि सुन खरिद गरिरहेका छन् । त्यसैले सुन भारत पुर्याउँदा नाफा उच्च छ ।
त्यहाँ सन् २०१२ मा सुनको वार्षिक माग आठ सय टन पुगेको थियो । यो अस्वाभाविक वृद्धिले चालू खातामै असर परेपछि भारत सरकारले सुन आयात निरुत्साहित गर्ने नीति लियो । त्यसयता सुन आयात वार्षिक ५ सय ८० टनभन्दा बढी नबनाउने नीति छ । नेपालमा भन्दा भारतमा सुन केही सस्तो भए पनि बजारको माग भने अत्यन्तै उच्च रहेको यही तथ्यांकले बताउँछ । त्यही कारण हो कि माग र आपूर्तिको यो खाडल पुर्न तस्करीको बाटोबाट सुन भारत पुग्छ ।
भारतीय बजारमा खपत हुने सुनबाट आएको भारतीय रुपियाँमा समेत कारोबारीहरूले नाफा कमाउँछन् । सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले भारु एक सय रुपियाँको नेपाली १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ । भारतसँगको व्यापार घाटा उच्च रहेकाले यहाँ भारुको माग पनि उच्च छ । नेपाल–भारत व्यापारको आयात–निर्यात अनुपात १:८ छ । त्यसमाथि नेपाल राष्ट्र बैंकले कारोबारको सीमा तोकिदिएकाले भारुको अभाव छ । त्यो अभाव यस्तै अवैध कारोबारबाट पूर्ति हुन्छ । कारोबारीहरूले अवैध ढंगले भित्रिएको यस्तै सुन बिक्रीबाट आएको भारु नेपालका व्यवसायीलाई बढी मूल्यमा बेच्छन् । यसरी दोहोरो फाइदा हुने भएपछि सुन कारोबारीहरू नै तस्करीको शृंखलामा संगठित गिरोह खडा गरेर लागेका हुन् ।
रेमिट्यान्समा भारी गिरावट
करिब दुई महिनाअघि नेपाल राष्ट्र बैंकका एक अधिकारी सीआईबीका डीआईजी सिलवालको कार्यकक्षमा देशको अर्थतन्त्रमा धमिरा लाग्दै गएको गुनासो लिएर पुगे । अवैध सुनको कारोबारका कारण मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै राष्ट्र बैंकबाट ताकेता आएपछि सीआईबीले सुन ओसारपसारमा अनुसन्धान थाल्यो ।
गत भदौको पहिलो सातासम्म वाणिज्य बैंकहरूमा करिब चार सय किलो सुन थन्किएको थियो । तर, सुन बजारको रौनकमा भने कुनै कमी आएको थिएन । तस्करीको सुन सस्तोमा पाएपछि व्यवसायीहरूले त्यही प्रयोग गरेर आफ् नो व्यवसाय गुल्जार बनाएका थिए । अहिले बजारमा उच्च माग भएकाले बैंकहरूमा सुन थन्किएको त छैन । तर, अपुग माग तस्करीबाट आयातित सुनले धानिरहेको भने छ ।
सुन र अर्थतन्त्रबीच परस्पर सम्बन्ध हुन्छ । अझ सुन दुई नम्बरी बाटोबाट आयात हुने भएपछि यसले सोझै अर्थतन्त्रमा प्रभाव पार्ने बताउँछन्, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख एवं निर्देशक भीष्म ढुंगाना । भन्छन्, “अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषण (रेमिट्यान्स)मा पर्छ ।” उनको भनाइलाई राष्ट्र बैंकको तथ्यांकले पुष्टि पनि गर्छ । त्यस अनुसार प्रवासमा नेपालीहरूले कमाइरहेको विदेशी मुद्रा कारोबारीहरूले सुनको व्यापारमा प्रयोग गरिरहेका छन् । किनभने, विदेशबाट आउने रेमिट्यान्समा सुनको तस्करी बढेसँगै अर्थात् दुई वर्षअघिदेखि नै गिरावट देखिन थालिसकेको थियो ।
त्यसयता रेमिट्यान्सको वृद्धिदरमा नाटकीय गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३/७४ को पहिलो पाँच महिनामा रेमिट्यान्स वृद्धिदर घटेर ६ प्रतिशतमा ओर्लिएको छ । जब कि, अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १९.४ प्रतिशत थियो । दुई वर्षअघि १३.६ प्रतिशतले भएको वृद्धि त्यसपछिको वर्षमा आधा घटेर ७.७ प्रतिशतमा झरेको थियो ।
वैदेशिक रोजगारमा जानेको संख्या घट्नु र भारतीय अमौद्रिकीकरणलाई नेपालमा विप्रेषण वृद्धिदर कम हुनुको कारणका रूपमा लिएको छ, राष्ट्र बैंकले । यो देखिने कारण भने हुन सक्छ । भित्री कारण भने सुनको अवैध कारोबार नै हो, जसबारे राष्ट्र बैंकले अनुसन्धान नै गरेको छैन । “रेमिट्यान्स घट्नुको कारण सोहै्र आना अवैध ढंगले सुन तस्करी हुनु नै हो,” राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री भन्छन् । उनका अनुसार कामदारहरू बस्ने ठाउँमै पुगेर सुन तस्करका एजेन्टहरूले बढी दरमा नेपालका घरघरमा पैसा पुर्याउने सुनिश्चितता गरेर रकम संकलन गर्छन् र त्यो रकम सुन खरिदमा लगाउँछन् ।
राष्ट्र बैंकका निर्देशक ढुंगाना विप्रेषण वृद्धिदर घट्नुको कारणबारे अनुसन्धान नगरेको बताउँछन् । अर्थात्, अनुसन्धान नगरेकाले मात्रै विप्रेषण घट्नुको कारणमा सुन नपरेको हो । प्रहरी अनुसन्धानले भने ०७१ मा नै रेमिट् यान्सको अंश तस्करको हातमा पुग्ने खुलासा गरेको थियो । ‘अक्टोपस अप्रेसन’ नामक सुन तस्करीविरुद्धको अनुसन्धानबाट खाडी, मलेसिया, दक्षिण कोरियाजस्ता मुलुकमा काम गर्ने नेपाली श्रमिकहरूको रकम सुन तस्करीमा प्रयोग भएको भेटिएको थियो । “पैसा पठाउने वैधानिक प्रणालीलाई सहज नबनाए कामदारहरूको रकम तस्करको हातमा पुग्ने र यसबाट हुन्डी, रेमिट्यान्स तथा विदेशी विनिमयमा असर परिरहेकोबारे कुरा राखिएको थियो,” अक्टोपस अप्रेसनको नेतृत्व गरेका एसएसपी पुष्कर कार्की त्यतिबेला राष्ट्र बैंकलाई दिइएको सुझावबारे बताउँछन् ।
त्यसमाथि नेपालीहरूले विदेशमा गरेको कमाइको करिब ४० प्रतिशत हिस्सा हुन्डीबाट नेपाल आउने गरेकाले पनि त्यो रकम सुन खरिद गर्न प्रयोग भएको अनुमान लगाउन गाह्रो पर्दैन । जब कि, ६ महिनाअघि राष्ट्र बैंकले १६ जिल्लाका ३ सय २० घरपरिवारमा गरेको विप्रेषणको बचत तथा लगानी प्रवृत्तिको अनुसन्धानमा कोरियाबाट ७० प्रतिशत विप्रेषण रकम हुन्डीबाट भित्रिरहेको खुलासा भएको थियो । यसको अर्थ हो, विप्रेषण आप्रवाहमा अनौपचारिक अर्थतन्त्रको बोलवाला बलियो छ । र, यसको ठूलो हिस्सा सुनको अवैध कारोबारमा पुग्छ ।
डलर हाहाकारको कारण
नेपाली बजारमा नगद डलरको अभाव समेत लामो समयदेखि छ । राष्ट्र बैंकसँग डलर सञ्चिति भए पनि नगद भने कम छ । अभाव भएपछि विदेश यात्रा गर्नेले २ हजार ५ सय डलर लैजान पाउने सुविधालाई घटाएर पाँच सयमा झारेको थियो, राष्ट्र बैंकले फागुन ०७० मा । यो सीमा हटे पनि डलर सहजता भने हटेको छैन । सुन तस्करी गर्ने समूहले हुन्डीमार्फत बाहिर पठाउने भएकाले नगद डलरको यति ठूलो हाहाकार भएको हो ।
सुन तस्करीको जालो नेपाल आएको विदेशी मुद्रासँग पनि जोडिएको छ । हुन्डी कारोबारीले बजारमा भएको नगद डलर जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणालीबाट विदेश पुर्याउने गरेका छन् । पर्यटकको संख्या घटेकाले बजारमा डलर अभाव भएको तर्क गरिन्थ्यो, विगतमा । तर, अघिल्लो वर्षको तुलनामा गएको वर्ष पर्यटकको संख्या ४० प्रतिशतले वृद्धि भएको छ । तैपनि, नगद डलरको अभाव घटेन । “सुन किन्नलाई यहाँ डलर जम्मा गर्ने र पठाउने गरिएको हुन सक्छ,” नेपाल राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्, “जुनसुकै माध्यमबाट होस् उनीहरूले डलरको जोहो गर्छन् ।”
जोखिममा अर्थतन्त्र
ठूलो मात्रामा सुनको अवैध कारोबार देखिनु र त्यसबाट विप्रेषण वृद्धिमा लागेको ब्रेक, नगद डलरको अभाव हुनु भनेको अर्थतन्त्र असन्तुलित हुनु हो । “उद्योगी, व्यापारीहरूसमेत दुई नम्बरी काममा लागे भने पक्कै पनि मुलुकको अर्थतन्त्र नकारात्मक मोडमा पुग्छ,” पूर्वगभर्नर क्षत्री भन्छन् ।
सुन भारतीय बजारमा पुर्याउँदा अहिले प्रतिकिलो साढे पाँच लाख रुपियाँ फाइदा हुन्छ । यो दर तीन वर्षअघि साढे दुई लाख मात्र थियो । अन्य व्यापार र औद्योगिक लगानीबाट नाफा कमाउन मुस्किल परिरहेका बेला सुन तस्करीमा लगानी भइरहेको हुन सक्छ । सुन तस्करीलाई लक्षित गरेरै तिब्बतको ल्हासामा नेपाली र तिब्बती मिलेर सुन पसलहरू खुल्न थालिसकेको एक जना सुन व्यवसायी बताउँछन् ।
एकातिर सुनको अवैध कारोबार बढ्दै जाने र अर्कोतिर विप्रेषण आप्रवाह रोकिने तथा दे शको डलरसमेत अवैध रुटबाट बाहिरिने क्रमले अर्थतन्त्र दुष्चक्रमा फस्न सक्छ । सुन, हुन्डी, विदेशी विनिमयको अहिलेको अवस्था हेर्दा दे शमा समानान्तर अर्थतन्त्रको अभ्यास भइरहे को आभास मिल्छ । “सबै रकम अनौ पचारिक अर्थतन्त्रमा सोहोरिएर भोलि पेट्रोलियम पदार्थजस्ता वस्तु किन्नै नसक्ने अवस्थामा मुलुक पुग्यो भने के गर्ने ?” राष्ट्र बैंकका पूर्वगभर्नर क्षत्री भन्छन्, “मुलुकले यो जोखिम कहिलेसम्म वहन गर्न सक्छ, थाहा छैन ।”
***
सानालाई ऐन
भर्खरै नुहाएर तेल लगाएको कपाल ठाड्ठाडा छन् । गाला र निधारसमेत तेल घसेर चिल्लो छ । तर, उनको अनुहारमा तेज पटक्कै छैन । २७ वर्षे भरभराउँदो उमेरका युवक निमा छिरिङ लामाको अनुहारमा चमक होस् पनि कसरी ?
३ असार ०७० को बिहान । सिन्धुपाल्चोक तातोपानीका निमालाई ट्रक चलाएर काठमाडौँ, कोटेश्वरमा आउनासाथै प्रहरीले पक्रियो, ३५ किलो सुनसहित । प्रतिकिलो दुई हजार रुपियाँ पाउने लोभमा सुन भरिया बनेका थिए, उनी । सुनधनी मोहन अग्रवाल, ग्याम्जो लामा र ट्रकधनी तातोपानीकै ओमबहादुर बज्राचार्यसमेत पक्राउ परे । चारै जनालाई राजस्व अनुसन्धान विभागले प्रतिव्यक्ति ३ करोड ७८ लाख रुपियाँ बिगो जरिवाना गर्यो । बिगो तिर्न नसकेपछि चारै जना जेल गए ।
तीनै जना सुन मालिकले विभागको फैसलाविरुद्ध राजस्व न्यायाधीकरणमा १७ नम्बरको निवेदन दिए । ज्ञातव्य रहोस्, मुलुकी ऐन अदालती बन्दोबस्तीको १७ नम्बर अनुसार मुद्दाको सुरुआती सुनुवाइमा तल्लो अदालत वा निकायले दिएको आदेश चित्त नबुझे त्यसलाई बदर गरिपाउन माथिल्लो अदालतमा पुनरावेदनसरह दिइने निवेदन हो यो । न्यायाधीकरणले ग्याम्जोलाई साधारण तारेखमा छोडिदियो भने बज्राचार्य र अग्रवालको कारबाही सदर गरिदियो । त्यसविरुद्ध विभागले सर्वोच्च अदालतमा पुनरावेदन दियो । सर्वोच्च अदालतले ३१ चैत ०७१ मा अग्रवाललाई साधारण तारेखमा र गाडी प्रयोग भएकाले बज्राचार्यलाई एक लाख रुपियाँ धरौटीमा मुक्त गर्न आदेश दियो । लगत्तै अग्रवाल निस्किए । बज्राचार्य भने अर्को सुन मुद्दामा समेत मुछिएकाले निस्कन सकेनन् ।
उनी १९ मंसिर ०६९ मा काभ्रेको धुलिखेलमा नौ किलो सुन जफतको मुद्दासमेत खेपिरहेका थिए । यो घटनामा समेत चालक जेल परे पनि उनी अदालतको आदेशबाट साधारण तारेखमा छोडिए, ८ पुस ०७२ मा । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बज्राचार्यलाई छोड्न आदेश दिएको थियो । तर, भरिया निमा भने जेलमै छन् । बज्राचार्य र अग्रवालको निवेदन दर्ता गरेको न्यायाधीकरणले निमाको निवेदन दर्ता गरेन । “मेरो निवेदन लिनै मानेन । तर, मलाई यो काम गर्न लगाउनेलाई भने छोडिदियो । यो कस्तो न्याय हो ?” मन अमिलो पार्दै जेलमै भेटिएका उनी गुनासो गर्छन् ।
राजस्व अनुसन्धान विभागले मुद्दा जिल्ला अदालतमा दर्ता गरे पनि सुनुवाइ नभएकाले निमाको कैद भुक्तानको समय ठेगान लागिसकेको छैन ।
‘हामी पनि अचम्मित भयौँ’
— नवराज सिलवाल, निर्देशक एवं डीआईजी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
सुन तस्करीका सहयोगी समात्ने तर मालिक उम्कने त होला नि फेरि, होइन ?
त्यस्तो हुँदैन । हामीले लगानीकर्तासम्म पत्ता लगाइसकेका छौँ । मालिकलाई समेत समातेर कारबाही गर्नकै लागि संगठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।
यसअघि संगठित अपराधमा मुद्दा चलाउँदा असफल भएको उदाहरण छ, अझ सुन बोक्ने मात्रै पक्राउ परेका छन् नि ?
धेरै कुरा प्रस्ट भइसकेको छ । हामी सुन तस्करी समूहको भित्री तहसम्म पुग्ने कोसिसमा छौँ । संगठित अपराधमा मुद्दा स्थापित हुन्छ । सीआईबीले त्यो क्षमता प्रमाणित गर्नु छ ।
अहिले कुन तहसम्म पुग्नुभएको छ त ?
माथिल्लो तह नै पहिचान भइसकेको छ । अनुसन्धानमै भएकाले धेरै कुरा भन्न मिल्दैन । अर्थमन्त्री र गृहमन्त्रीले सीआईबी अनुसन्धान गर्न सक्षम छ भनेकाले हामीलाई ‘ ब्याकअप’ भएको छ । त्यसैले सुनको ठूलो गिरोह यसबाट पत्तो लाग्छ । यति भनौँ, अन्तर्दे शीय सञ्जालको संलग्नता देखिन्छ ।
को–को संलग्न हुँदा रहेछन् यस्तो कारोबारमा ?
सुन ओसारपसार यो मात्रामा हुन्छ भन्ने हामीलाई पनि लागेको थिएन । यति ठूलो स्वरूप देखेर हामी पनि अचम्मित भयौँ । यति ठूलो परिमाणमा हुने कारोबार पक्कै उच्च तहको मिलेमतोबिना सम्भव छैन । अब हामी त्यो संयन्त्रतिर अनुसन्धानलाई अगाडि बढाउनेछौँ ।
Post a Comment