प्यूठान, २3 असोज । आगामी निर्वाचनका लागि नेकपा एमाले प्यूठान र नेपाली कांग्रेसले उम्मेदवारहरुको छनौट गरी सिफारिस गरेका छन् । एमालले प्रतिनिधि सभाका लागि पार्टी उपाध्यक्ष बामदेव गौतमको एकल नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ ।
प्रदेश सभाका लागि प्यूठान क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचन तर्फ पार्टी सचिवालय सदस्य विजयविराज विष्ट, मुक्ति पोख्रेल र पावर्ता वि.क.को नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ बाट पार्टी निवर्तमान अध्यक्ष हरि रिजालको एक नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ भोजविक्रम बुढा, चित्रकलि बुढा र शोभाराम भण्डारीको नाम सिफारिस गरिएको पार्टी सचिव मोहन जिसीले जानकारी दिए । त्यस्तै प्रदेश सभाको समानुपाति तर्फ क्षेत्र नं. १ बाट कृष्ण रायमाझि, टंकबहादुर खड्का र नारायणी पौडेललाई सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट कमला रिजाल, विष्णुबहादुर के.सी. र हुकुम खड्काको नाम सिफारिस गरेको एमाले प्यूठानले जनाएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि राष्ट्रिय पुर्नः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोख्रेलको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट पार्टी क्षेत्रिय सभापति टेकप्रसाद भण्डारी, मानबहादुर ओली, उपसभापति बद्रि लम्साल, माधव भण्डारी, कृष्णराज पौडेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट क्षेत्रिय सभापति तथा चलचित्रकर्मी सरोज थापा (रोज राणा), पार्टी सभापति अमर भण्डारी, , शालिकराम पण्डित, देविराम पुन को नाम सिफारिस गरेको पार्टी सचिव देवेन्द्र बर्माले जानकारी दिए ।
प्रदेश सभाको समानुपातिक तर्फ सुवास केसी, हुकुमबहादुर विष्ट, खिमानसिंह रायमाझि, धनलक्ष्मी श्रेष्ठ लगायत १० जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाको समानुपातिक तर्फ दिवाकर गौतम, भगवती विष्ट, इश्वरीप्रसाद रेग्मी, जयुन मिया लगायत ११ जनाको नाम क्षेत्र नं. १ बाट सिफारिसमा परेको छ । क्षेत्र नं. २ बाट देविराम पुन, मुक्तिप्रसाद शर्मा, निमा गिरी, रेश्मा न्यौपाने लगायत १३ को नाम कांग्रेस प्यूठानले सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि पार्टी पोलिटव्युरो सदस्य कृष्णध्वज खड्कालाई प्रत्यक्ष निर्वाचनका लागि अघि सारेको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फ माओवादी नेता मणि थापालाई सिफारिस गरेको छ ।
बाम गठबन्धनले कसलाई कुन क्षेत्र पर्ने हो भन्ने एकिन नहुँदा दलहरु अन्यौलमा परेका छन् । माओवादी केन्द्रमा आकांक्षीहरु धेरै भएपछि चुनावी तालमेल एकिन भएपछि मात्र छलफल गर्ने पार्टीको योजना छ ।
राष्ट्रिय जनमोर्चा पनि चुनावी तालमेलका कारण उम्मेदवारहरु टुंगो लगाउन सकेको छैन् । श्रोतका अनुसार प्रतिनिधि सभाका लागि पार्टी उपाध्यक्ष दुर्गा पौडेललाई चुनावी मैदाना उतार्ने योजनामा छ ।

Post a Comment