Header Ads

शुक्र, भदौ ३०, २०७४ । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणमा संलग्न भएको भन्दै प्रहरीले राप्ती व्यूरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुवास’लाई पक्राउ गरेको छ ।

शुक्रबार बिहानैदेखि घर्तीमगरको खोजीमा खटिएको प्रहरीले बाठामगरलाई अपरान्ह पक्राउ गरेको हो । प्रहरीले यसबारे औपचारिक रुपमा भने केही बताउन चाहेको छैन ।

भावाङ घर भएका बाठामगर माओवादी जनयुद्धताका संकटकालको समयमा विशेष क्षेत्रका सेक्रेटरी थिए । उनी पछि विप्लव समूहतिर लागेका थिए । बाठामगर समेतको योजनामा गाउँपालिका अध्यक्ष घर्तीमगरको अपहरण गरिएको प्रहरीको दावी छ ।

नेकपाका कार्यकर्ताहरुले अध्यक्ष घर्तीलाई गएराति थवाङबाट अपहरण गरेका थिए । नेकपाको जनसरकारको सल्लाहविना थवाङ गाउँसभाको कार्यक्रम आयोजना गरेको आरोपमा अपहरण गरिएको हो ।

नेकपाका रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्री ‘जागृति’ले आफूहरुको सल्लाहविना ‘पुरानो सरकार’को कार्यक्रम आयोजना गरेकाले सोधपुछका लागि वियोगलाई आफूहरुसँगै राखेको बताएका छन् ।

थवाङ गाउँसभाको कार्यक्रम उदघाटनका लागि शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महरा थवाङ जाँदैछन् । सोही कार्यक्रम विथोल्ने उद्देश्यले नेकपाले गाउँपालिका अध्यक्ष घर्तीको अपहरण गरेको बुझिएको छ ।

Post a Comment

Previous Post Next Post