Header Ads

भाद्र २६, २०७४  । ‘ठाडोभाका शिरोमणि’को उपाधि पाएका ठाडोभाका गायक भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) को ८५ बर्षको उमेरमा निधन भएको छ ।
भदौ २९ गते ८५ बर्षको उमेरमा उनलाई सरकारद्धारा ‘ठाडोभाका शिरोमणि’ को उपाधि दिलाउन लागिपरेका बेला उनको सोमबार साँझ सवा ५ बजे निवासमै निधन भएको हो । परेवाडाँडा घर भएका उनी केही बर्षदेखि सुन्दरबजारस्थित जेठी छोरीज्वाइँको घर पत्निसहित बस्दै आएका थिए । ज्वाइँ सम्सेरबहादुर लौडारीका अनुसार भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खाएका थिएनन् । एक महिनादेखि बिरामी रहेका उनको लमजुङमा उपचार हुन नसकेपछि भदौ २१ गते काठमाडौंको बीर अस्पताल लगिएको थियो । डाक्टरले ‘आराम गराइदिए पुग्छ’ भनेपछि भेंडीखर्केलाई घर ल्याइएको उनले बताए । ‘मुखैभरि घाउ थियो । ज्वरोको समस्या पनि उस्तै । दमको समस्या भएको मान्छे, खोक्न समेत सकेको थिएन’ उनले भने, ‘आखिर प्राण त्याग्नुभयो । राष्ट्रको एउटा गौरब गुम्यो । उपचार गराउँदा गराउँदै, बल गर्दागर्दै बचाउन सकिएन ।’ ३ बर्षअघि भेंडीखर्के बिरामीले थला पर्दा देशविदेशका शुभचिन्तकको सहयोगमा एक महिनासम्म बीर अस्पतालमा राखेर उपचार गराइएको थियो । त्यसपछि उनी तंग्रिएका थिए । उनको उपचारका लागि छोरीज्वाइँले पनि खर्च गरेका थिए । ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग भेंडीखर्केको उपचारका लागि माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनले सोमबार साँझ नै एक शोक बक्तब्य जारी गरी भेंडीखर्के साइँलाको निधनले ठाडो भाका र नेपाली लोकसंस्कृतिमा अपूरणीय क्षति पुगेको जनाएको छ । ‘सरकारले नै ठाडोभाकाको उपाधि दिनुपर्ने माग गर्दै हामी उहाँको जन्मदिन भदौ २९ को प्रतीक्षमा थियौं । उहाँको प्राणत्यागले ठाडोभाका र नेपाली लोकसंस्कृतिमा अपूरणीय क्षति पुगेको छ’ उनले भने । ब्राह्मण समाजमा छोरामान्छेले गीत गाउनु हुन्न भन्ने प्रचलन तोड्दै उनले आफ्नो बुवाको आँखाकान छलेर ठाडोभाका गाउँदै हिँडेका थिए । ९ बर्षको उमेरदेखि गाउन थालेका उनी एक महिना अघिसम्म जिल्लाका सभा–समारोहमा गाउने गर्थे । उनी प्रमुख अतिथि तथा अतिथि भएका कार्यक्रममा उनले ठाडो भाकामै सम्बोधन गरेर भाषाण गर्थे । लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र र आमा नन्दकुमारीको कोखबाट जन्मेका उनी बुवाको भेडीगोठमा बस्थे । बुवालाइ स्थानीयले भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँलो छोरा थिए दीर्घराज अधिकारी । तिनका नाम पछि भेडीखर्के साइँला रहन गएको हो । पश्चिमाञ्चलको बहुचर्चित ठाडोभाका सिकाउन उनले धेरै प्रयास गरे । भतिजा तीर्थराजलाई धेरै समयसम्म सिकाउने खोजे । भाका कण्ठस्थ पार्न सकेन । सुन्दा निकै सुमधुर र मज्जा लाग्ने भएपनि जो कसैको जिब्रोमा झुण्डित उत्तिकै अप्ठ्यारो छ । यही भाका दुराडाँडाको ठुलोस्वाँराबाट देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सवैभन्दा पहिले गाउन सुरु गरेका भेडीखर्के बताउँछन् । वि.सं. १८५० तिर जन्मेका दुरा र उनको सहयात्री गुरुङले प्रचलनमा ल्याएको यो भाकालाई टिपेर भेडीखर्केले जनमानसमा पुर्‍याए । देउबहादुरले पहिलोपटक प्रचलनमा ल्याएको यो भाका पहिले केटा–केटा मिलेर गाउँथे । केटा–केटा गाउँदा रौनक नआएपछि उनले केटीलाई पनि सिकाए । नेटा हाँडीगाउँकी मैरानी ठाडोभाका सिक्ने पहिलो महिला बनिन् । यसले गीतमा थप रौनक आयो । देउबहादुर र मैरानीको जोडी धेरै समयसम्म टिक्यो । उनीहरुको जोडी पछि भेडीखर्के साइँलाले गाउन थालेका हुन् । उनलाई २०६५ माघ १८ गते हिमालचुली कला साहित्य प्रतिष्ठानले ‘ठाडोभाका गायन शिरोमणी’ उपाधि दिएको थियो भने २०६८ मंसिर १८ गते लमजुङ लोक संस्कृति विकास केन्द्र काठमाडौंले ठाडो भाका ‘सम्राट’ को उपाधि दिएको थियो ।
कान्तिपुरबाट साभार

Post a Comment

Previous Post Next Post