पोखरा : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् ।बैठकमा महासचिव विप्लवले एमाले–माके र नयाँ शक्ति गठबन्धनलाई दक्षिणपन्थी, अवसरवादी, प्रतिक्रान्तिकारी गठबन्धन भन्दै संसदीय व्यवस्थाको सङ्कटको परिणति भन्नुभएको छ । बैठकले महेन्द्रीय राष्ट्रवाद र संसदीय राष्ट्रवादले देशलाई स्वाधीन बनाउन नसक्ने निष्कर्ष निकालेको बताइएको छ ।
एमाले–माके–नयाँ शक्तिको एकता र त्यसपछि पार्टीको नाम नेकपा नै राख्ने चर्चा भइरहेको बेला पार्टी नाम नबदल्ने र नाम जुधाएर राखे पनि आपत्ति नहुने अनौठो मानसिकतामा उक्त पार्टी पुगेको एकजना पोलिटब्युरो सदस्यले बताए । नेकपाले कात्तिक ७ गते अर्थात् अक्टोबर क्रान्तिको शतवार्षिकी काठमाडौँमा विशाल जनप्रदर्शन र सभासहित सम्पन्न गर्ने भएको छ । उक्त सभालाई महासचिव विप्लवले नै सम्बोधन गर्ने समाचारमा जनाइएको छ ।
नेकपाले सरकारद्वारा घोषित राज्यसभा र संसद्को चुनाव खारेज गर्ने औपचारिक निर्णय पनि गरेको छ । नेकपाले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने लोकप्रिय एवम् जनअपेक्षित कार्यक्रमसमेत घोषणा गरेको छ । उसले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फस्र्र्योट आयोगका निलम्बित प्रमुख चूडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरि केबुलकारका मालिक चन्द्र ढकाललगायत छन् ।
असोज २१ देखि २३ गतेसम्म चलेको उक्त बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) बीचमा पार्टी एकताको व्यापक चर्चा भइरहेको बेला बैठकले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने निर्णय गरे पनि विचार र चिन्तनमा मोहन वैद्य ‘किरण’ मा सङ्कीर्णता, रूढिवाद जब्बर रहेकाले तत्काल पार्टी एकताको आधार नबनेको ठहर गरिएको छ ।
Post a Comment