Header Ads

तुलसीपुर २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाको सम्पूर्ण गतिविधि अब सिसी क्यामेराको निगरानीमा रहने भएको छ । कर्मचारीको कार्य सम्पादनको विषयलाई लिएर व्यापक गुनासो हुने गरेपछि त्यसको अन्त्य र कामलाई छिटोछरितो गर्नका लागि हरेक कर्मचारी तथा सेवाग्राहीका गतिविधि कैद गर्ने गरी सिसी क्यामेरा जडान गरिएको मेयर घनश्याम पाण्डेले बताए ।

उपमहानगरपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा सेवालाई थप प्रभावकारी तुल्याउनका लागि कार्यालयमा २३ वटा सिसी क्यामरा जडान गरिएको कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले राप्ती समाचारलाई बताए । कार्यालयका प्रत्येक शाखामा के–कसरी सेवा प्रवाह भइरहेको छ त्यसको मूल्याङ्कन गर्नुका साथै कर्मचारीको कामचोर प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यका साथ कार्यालयमा सिसी क्यामरा जडान गरिएको कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने मानसिकताका साथ काम गर्ने कर्मचारीहरुलाई तह तथा निगरानी गर्नका लागि सिसी क्यामेरा जडान गरिएको उनले बताए । ‘अब कसैले पनि बेइमानी गर्न पाउने छैन, काम चोर्न पाउने छैन ।’ कार्यकारी अधिकृत केसीले भने– ‘अब कर्मचारी तथा सेवाग्राहीका गतिविधिहरु प्रत्यक्ष निगरानी गरेर तत्काल कारवाही थालिने छ ।’

हाजिर गरेर दिनभर कार्यालयबाट गायव हुने तर, साँझमा आएर हाजिर गरेर घर जान पल्केका कामचोर प्रवृत्तिका कर्मचारी सिसी क्यामेरा जडान पछि अबदेखि कारवाहीमा पर्ने उनले आशा व्यक्त गरे । जडित क्यामराको कन्ट्रोल मेनु उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको कार्यकक्ष र कार्यालय प्रमुखको कार्यकक्षमा राखिएको छ । दुई लाख ५० हजार लागतमा प्रत्येक शाखामा गरी कुल २३ वटा सिसी क्यामरा जडान गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

कार्यालय सिसी क्यामराको निगरानीमा भएपछि कार्यालयको सुरक्षा, सेवाग्राहीको चाप, कर्मचारीको व्यवहारको प्रत्यक्ष जानकारी हुनुका साथै नयाँ योजना बनाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको मेयर पाण्डेले बताए । ईन्टरनेट सिस्टमसहित जडान गरिएका सिसी क्यामराको नेटको पहुँच हुने जुनकुनै स्थानबाट निगरानी गर्न सकिने भएकाले कार्यालयको सेवा प्रवाह अब चुस्तदुरुस्त बन्ने मेयर पाण्डेको आशा छ ।

Post a Comment

Previous Post Next Post