Header Ads



२२ साउन, अछाम । अछामको मेल्लेख गाँउपालिका-५ का वडा अध्यक्ष रामबहादुर बोहराको बाजुराको बडीमालिका जाने क्रममा लेक लागेर बाटैमा मृत्यु भएको छ ।

सुदूरपश्चिमको प्रशिद्ध धार्मिक तीर्थस्थल बाजुरामा रहेको बढीमालिका मन्दिरमा दर्शनका लागि जाँदै गरेका बोहराको शनिवार राति करिब ८ बजेतिर त्रिबेणी नगरपालिका-९ लौरी विनायकमा लेक लागेर मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले पुष्टि गरे ।

उनले अछामबाट घटना स्थल दुई दिनको पैदल दूरीमा पर्ने बताउँदै बोहराको शव ल्याउनका लागि हेलिकप्टरको व्यवस्था गरिदिन गृह मन्त्रालयमा पत्राचार गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्टले गृहले पश्चिम पृतना सुर्खेतमा रहेको सेनाको हेलिकप्टर पठाउने भन्ने जानकारी प्राप्त भएकोले उक्त स्थानमा हेलिप्याड समेत निर्माण गरिसकेको जानकारी दिए । मृतकको शवलाई उनका आफन्त र प्रहरीले सुरक्षा दिइरहेको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

मृतक बोहरा दोस्रो स्थानीय तह निवार्चनमा अछामको मेल्लेख गाँउपालिका वडा नम्वर ५ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन ।

पूर्व सशस्त्र प्रहरी बोहरालाई द्वन्द्वकालमा घाइते भएपछि सरकारले पेन्सन दिने गरी घर पठाएको थियो ।

२०७४ साउन २२ गते अनलाइन खवरमा १२:३६ मा प्रकाशित


Post a Comment

Previous Post Next Post