Header Ads

काठमाडौं, ९ माघ । बाराक ओबामाले आठ वर्ष अमेरिकाको शासन गर्दा नेपालमा भने सातजना प्रधानमन्त्री फेरिएका छन् ।

सन् २००९ मा पहिलो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएका ओबामा सन् २०१३ मा दोस्रो पटक राष्ट्रपति निर्वाचित भए । डेमोक्र्याटिक पार्टीका तर्फबाट ओबामाले दुई कार्यकाल अमेरिकाको शासन चलाउँदा नेपालमा पाँचजना कम्युनिस्ट, एकजना डेमोक्र्याट र एकजना पूर्वप्रधानन्यायाधीशले शासन चलाए ।

अमेरिकी संविधानअनुसार त्यहाँ प्रत्येक चार वर्षमा सरकार परितर्वन हुन्छ । २०७२ असोजमा जारी भएको संविधानअनुसार नेपालमा बहुमतको सरकार पाँच वर्ष चलाउने व्यवस्था भएपछि यसअघिको ट्रेन हेर्दा प्रत्येक नौ महिना सरकार परिवर्तन हुने गरेको छ ।

ओबामाले सन् २००९ जनवरी २० देखि सन् २०१७ जनवरी २० सम्म शासन चलाएर शनिबार (हिजो) ह्वाइट हाउस छोड्दासम्म नेपालले सात प्रधानमन्त्री पायो ।

प्रचण्ड र ओबामाको अनौठो संयोग



ओबामा कार्यकाल सुरु हुँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । र अनौठो संयोग ओबामाको कार्यकाल सकिँदा पनि प्रचण्ड नै नेपालका प्रधानमन्त्री छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पहिलो पटक २०६५ भदौ २ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको सरकार २०६६ वैशाख २१ ढल्यो । उनले आठ महिना शासन गरे ।

प्रचण्डपछि नेकपा एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री बने । २०६६ जेठ ११ गते प्रधानमन्त्री बनेका नेपालले करिब २० महिना सरकार चलाए । उनको सरकार २०६७ माघ २२ गते ढलेको थियो ।
ओबामा कार्यकालकै तेस्रो प्रधानमन्त्री बने एमालेकै झलनाथ खनाल ।२०६७ माघ २३ मा प्रधानमन्त्री बनेका खनाल २०६८ भदौ ११ सम्म कुर्सीमा रहे । उनको कार्यकाल सात महिना रह्यो ।
खनालपछि तत्कालीन माओवादी उपाध्यक्ष (हाल नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराई २०६८ भदौमा प्रधानमन्त्री बने । उनले ०६९ फागुनसम्म १८ महिना शासन गरे ।
ओबामा कार्यकालमा नेपालमा प्रधानन्यायाधीशले पनि सरकार प्रमुख हुने मौका पाए । पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि विघटन भयो ।
त्यसपछि दोस्रो संविधानसभा निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम सरकारको मन्त्रिपरिषद् अध्यक्ष बने । उनले १० महिना शासन गरे । २०६९ चैतमा सरकार प्रमुख बनेका उनले २०७० माघसम्म शासन गरे ।

ओबामा कार्यकालका एक मात्रै डेमोक्र्याट प्रधानमन्त्री हुन् सुशील कोइराला । नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाले २० महिना सरकार चलाए ।
bara
उनी प्रधानमन्त्री भएका बेला संविधानसभाले संविधान जारी गर्न सफल भएको थियो । २०७० माघमा प्रधानमन्त्री बनेका कोइरालाले २०७२ असोज ३ गते संविधान जारी भएपछि पदबाट राजीनामा दिएका थिए ।
ओबामा कार्यकालका छैटौं नेपाली प्रधानमन्त्री हुन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । संविधान जारी भएपछि प्रधानमन्त्री बनेका उनले नौ महिना शासन गरे । २०७२ असोजमा प्रधानमन्त्री बनेका ओली सरकार २०७३ साउनमा ढल्यो ।

ओबामा कार्यकालका अन्तिम अर्थात् सातौं प्रधानमन्त्री हुन्, पुष्पकमल दाहाल प्रचण्ड । ओबामा कार्यकाल सुरु हुँदा पनि प्रधानमन्त्री रहेका प्रचण्ड दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसरी अमेरिकामा ओबामाले आठ वर्ष शासन गर्दा नेपालमा सात प्रधानमन्त्री फेरिए ।

ओबामापछि अमेरिकी शासनसत्ताको चाबी डोनाल्ड ट्रम्पको हातमा पुगेको छ भने नेपालमा फेरि सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ ।

Post a Comment

Previous Post Next Post