Header Ads


मनिषा राई ÷ मंसिर २४ रोल्पा। पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सम्पन्न भएको छ । दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनका उम्मेदवारहरु भारि मतान्तरले बिजयी भएका छन् ।
रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी हुनुभएको छ । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी हुनुभएको हो । नेता अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत ल्याउनुभएको छ ।
रोल्पा नगरपालिका ७ माडीचौरमा जन्मिएका अनन्त माओवादी केन्द्र कार्यालय सदस्य र पाँच नम्बर प्रदेश इन्चार्ज समेत हुनुहुन्छ । पार्टीमा प्रभावशाली मानिने उहा शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्लाबाट उम्मेदवार बन्नुभएको हो ।

यसैबिच रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी सोनाम विजयी हुनुभएको छ ।
शान्तिकालमा लाभको पद नलिएका नेता सोनाम गृह जिल्लाबाट उम्मेदवार बन्नुभएको थियो । उम्मेदवार सोनामले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरमा विजयी हात पार्नुभएको छ । केसीले १८ हजार ५ सय १२ मत लिई विजयी हुनुभएको हो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सचिव समेत रहेको महराले १० हजार ४ सय १ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।
निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसले विजयी हुने अपेक्षा गरेपनि ३३ हजार ८ सय ३३ खसेको मतमा धेरै मतान्तर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार निर्वाचन क्षेत्र क मा २ हजार ७ सय ८५ मत वदर भए। ३१ हजार ४८ मत सदर भएको हो ।
यसैगरी रोल्पाको निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागि वाम गठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दीपेन्द्रकुमार पुनमगर विजयी हुनुभएको छ । माओवादी केन्द्रका रोल्पा र रुकुम जिल्ला इन्चार्ज समेत रहेका पुनमगर २४ हजार ४ सय ९० मतसहित विजयी हुनुभएको हो ।
उम्मेदवार पुनमगरले १४ हजार ५ सय २१ मत बढी मत ल्याएर जित हासिल गर्नुभएको हो । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता खगेन्द्रप्रकाश हमाल ९ हजार ९ सय ६९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बन्नुभएको छ ।

Post a Comment

Previous Post Next Post