काठमाडौं, माघ ९ – साहित्य अभिव्यक्तिको बलियो माध्यम हो । विश्वमा धेरै भाषामा लेखिएका साहित्यले साहित्यकारको मात्रै नभएर त्यो समाज र समयको चित्र प्रस्तुत गरेका छन् । आफूले दैनिक जीवनमा प्रयोग गर्दै आएको भाषामा साहित्य सिर्जना गर्नु साहित्यकारलाई सहज होला । शिल्प र भाषालाई विभिन्न स्वरुपमा बुन्न सक्ने क्षमताले साहित्यकारको क्षमतालाई दर्शाउँछ
आफूले बोल्ने दैनिक जीवनकै भाषामा पनि कलात्मक रुपमा साहित्य सिर्जना गर्न सक्नु लेखकको क्षमताको कुरा हो । त्यो भन्दा ठूलो क्षमता चाहिन्छ, आफ्नो बोलीचाली भन्दा अर्कै भाषामा साहित्य सिर्जना गर्न ।
यो चुनौती, ठूलो मेहनत र शिल्प चाहिने काम गरेर नेपाली बाहेक अरु भाषामा पनि सुन्दर अभिव्यक्ति सिर्जना गर्न सक्ने लेखक नेपालमा पनि छन् । यस्तै एक नाम हो–चेतन कार्की । सँस्कृतिकर्मी कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहितका विभिन्न साहित्यका विधामा आफ्ना १० भन्दा धेरै पुस्तक लेखिसक्नु भएको छ ।
लामोसमय चलचित्र निर्माण तथा निदेर्शनमा संलग्न हुनुभएका चेतन कार्की अहिले नयाँ स्वरुपमा आउनुभएको छ । कार्कीले उर्दू भाषामा लेखिएका नज्म, रुबाई, गजलसहितका सिर्जना समेटिएको संग्रह ‘दिल जिगर के टुकडे’ सार्वजनिक भएको छ । नेपाली भाषी कार्कीले उर्दू भाषामा लेखेको यो पुस्तक शनिबार ललितपुरमा भएको एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।
‘उर्दू सधैँ मलाई लोभ्याउने भाषा बन्यो, उर्दूले तान्यो अनि रमाउने बनायो । यसैको नतिजा हो–दिल जिगर के टुकडे, जो आज तपाईंहरुको हातमा छ ।’ विमोचनपछि कार्कीले भन्नुभएको थियो यस्तो । लिपि हिन्दी तर भाषा उर्दू । कार्कीको नयाँ कृति–दिल जिगर के टुकडे ।
कुनै पनि भाषा आफैमा पूर्ण हुँदैन । जनु कुनै भाषालाई पूर्ण हुनका लागि अर्को कुनै भाषाको सहारा चाहिन्छ नै । चाहे त्यो सँस्कृत, नेपाली, हिन्दी, उर्दू, अंग्रेजी वा फारसी नै किन नहोस् ।
‘सिर्जनाको सुन्दरता लेखकको भाषासँग खेल्न सक्ने शिल्प र त्यसलाई प्रस्तुत गर्ने तरिकामा हुन्छ । दिल जिगर के टुकडे पढ्दा कहिँ कतै पनि लाग्दै न कि यो गैर उर्दू भाषीको सिर्जना हो भनेर’ उर्दू एकेडेमी नेपालका महासचिव तथा गजलकार इम्तियाज वफाले भन्नुभयो । कार्कीले उर्दू र सिर्जना दुवैमाथि गुन लागएको उहाँले बताउनुभयो ।
साहित्यको कुनै सीमा नहुने र सिर्जनाले पाठकको मन, बाँचेको समय तथा परिवेसलाई प्रस्तुत गर्ने पर्ने साहित्यकार प्रकाश सायमीको भनाई छ ।
यसमा सफल भएमा जुन भाषामा लेखिएको भएपनि साहित्य सबैको बन्न सक्छ । यसमा नेपाली कलासँस्कृतिको उन्नयनका लागि अनवरत लाग्नु भएका चेतन कार्की सफल रहेको साहित्यकार सायमीले बताउनुभयो ।
पुस्तकमाथि बोल्दै गीतकार सुवासचन्द्र ढुंगेलले कार्कीको नयाँ सिर्जनाले उहाँलाई थप भव्य बनाएको बताउनुभयो । ‘८० वर्षको उमेरमा उहाँको उत्साह र उर्दू भाषामा पनि नेपालीमा जस्तै अभिव्यक्ति शिल्पीले उहाँलाई महामहिम बनाएको छ’ गीतकार ढुंगेलले भन्नुभयो ।
कार्यक्रममा बोल्ने सबैले कार्कीका सिर्जना मानवीय संवेदनालाई छुने खालका रहेको भन्दै प्रशंसा गरे । साहित्यकार डा. सनतकुमार वस्तीले दिल जिगर के टुकेडमा कार्कीले आफूलाई जस्ताको जस्तै प्रस्तुत गरेको बताउनुभयो । यसको प्रमाण पुस्तक भित्रका धेरै सिर्जना रहेको उहाँको भनाई थियो ।
मैं घर बनाना चाहता हूँ, मकान नहीं ।
दे सकता हूँ हँस के जान, ईमान नहीं ।।
समन्दर सूख सकते हैं, उड सकते हैं कोह भी,
दुनियाँ बदल सकती है पर मेरी जुबान नहीं ।। (दिल जिगर के टुकडेबाट लिइएको रुबाई)
Tags
Entertainment

Post a Comment