पशुपति क्षेत्र विकास कोषले गत वर्ष भूकम्पमा परी बेवारिस बनेका दुईवटा लास जलाएर गृहको सुरुआत गरेको थियो । अहिले दैनिक १६ वटासम्म लास जलाउने गरिएको छ । नेपालमा पहिलोपटक विद्युतीय शवदाह गृह सञ्चालन भएपछि पाशुपत क्षेत्रकै आर्यघाट र भष्मेश्वर घाटमा लास जलाउनेको संख्यामा एक तिहाइ कमी आएको छ ।
कोषअन्तर्गत गृहका प्रमुख कुमार थापामगरका अनुसार आइतबार साँझसम्ममा तीन हजार नौ सय ३४ वटा लास जलाइएको छ । कोषका सदस्यसचिव डा। गोविन्द टन्डनले विद्युतीय शवदाह गृहमा सोचेभन्दा धेरै लास आइरहेको बताए । उनले भने, ‘२०७० सालमा कोषमा नेतृत्व समाल्न आउँदा कर्मचारीलाई नै विश्वास थिएन, अरूमा आशंका हुनु स्वाभाविक थियो । भारतका कयौं ठाउँमा नचलेका उदाहरण छन् ।’

कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले सामाजिक चेतना बढेकै कारण विद्युतीय दहनमा आकर्षण बढेको बताए । ‘२०४० सालसम्म राजधानीमै सेनाले पुलमाथि ब्यान्डबाजा बजाउँदै हिँडे पनि लास खोलाबाटै तार्थे’, उनले भने, ‘घाटमा समय र रकम बढी लाग्ने भएकाले पनि यता बढ्न थालेको हुनसक्छ ।’
घाटमा एउटा लास दागबत्ती दिएपछि जल्न कम्तीमा तीन र बढीमा पाँच घन्टासम्म लाग्छ भने गृहमा सरदर ४५ मिनेटमा जल्छ । घाटमा कम्तीमा ९ हजार र बढीमा २८ हजार रुपैयाँसम्म खर्च हुने कोषका कर्मचारी बताउँछन् । गृहमा तीन हजार रहेकोमा साउनदेखि प्रतिलास चार हजार रुपैयाँ लिने गरिएको छ ।
आर्यघाटमा दुई र भष्मेश्वरमा १० वटा घाटमा लास जलाइँदै आएको छ । कोषसँग घाटमा काम गर्ने कर्मचारी ५१ जना छन् । गृह सुरु हुनुअघि घाटमा दैनिक सरदर ४० वटा लास जलाइने गरेको तथ्यांक छ ।यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
Post a Comment