भावपूर्ण श्रद्धाञ्जली
संसारमा सबैभन्दा महँगो कुरा जीवन हो । कारण जेसुकै होस्, कसैको मृत्युले उसको परिवारलाई गहिरो पीडा दिन्छ । समाजलाई दु:खित बनाउँछ र राष्ट्रलाई ठूलो घाटा हुन्छ । यसर्थ, होनहार युवा कृष्ण सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवार, आफन्तजन एवं साथीभाइहरूप्रति गहिरो सहानुभूति ।
कृष्णको स्वमृत्यूवरणप्रति परिवारले शंका जनाइसकेको छ । सामाजिक सञ्जालमा विभिन्न टीका–टिप्पणीहरू उठाइएको छ । प्रश्न उठाइएका व्यक्ति दीपकराज गिरी स्वयंले छानबिनको माग गरिसकेका छन् । प्रत्यक्ष वा परोक्ष रूपमा आफ्नो संलग्नता देखिए कानुनअनुसार सजाय भोग्न तयार भएको पनि उनले बताएका छन् । अब निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु प्रशासनको जिम्मेवारी हो ।
छक्कापन्जा
देशको संविधान त निर्विबाद छैन भने एउटा चलचित्रका सम्बन्धमा टीका–टिप्पणी हुनु स्वभाविक हो । मनोरञ्जनका लागि निर्माण गरिएको सामग्रीबाट मोक्षप्राप्तिको होइन, मनोरञ्जनको मात्र अपेक्षा राख्नुपर्छ । यस अर्थमा छक्कापन्जाले एउटा ठूलो तप्कालाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । व्यवसायिक उद्देश्यले तयार पारिएको चलचित्रबाट ठूल्ठूला समाजसेवाको आशा होइन, आम्दानीकै चाहना रहन्छ । यस अर्थमा छक्कापन्जा आफ्नो ठाउँमा सफल रहेको गजुरियल ठम्याइ छ ।
यो चलचित्रमा पुराना चुट्किलाहरू नराखेको भए हुन्थ्यो । बिदेसिएका श्रीमान्का पत्नीहरू परपुरुषसँग किन नजिकिन्छन्, यसको मनो–सामाजिक कारण देखाउनुपथ्र्यो । एक्ली महिलालाई हेर्ने पुरुषको गिद्धे नजरलाई पनि दनक दिनुपथ्र्याे । यसका बावजुद छक्कापन्जाले हिन्दी चलचित्रको गोलचक्करमा फसेका दर्शकलाई नेपाली चलचित्रतर्फ तानेको छ । छक्कापन्जाले वैदेशिक रोजगारीले ल्याएको सामाजिक रोगलाई राष्ट्रसामु डाइग्नोसिस गरेको गजुरियल बुझाइ छ ।
पाइरेसी
कसैको साहित्यक, सांगीतिक तथा कलात्मक प्रस्तुतिलाई अनुमतिबिना विद्युतीय माध्यममार्फत् सार्वजानिक गर्नुलाई पाइरेसी भनिन्छ । यसविरुद्धको कानुनले त्यसमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्ने भन्दै सरकार र प्रहरीको छुट्टै एकाई खडा गरेको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयले निकालेको विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ— यो कानुन कार्यान्वयनको प्रमुख कमजोरी भनेको सर्वसाधारणमा यसको ज्ञान र चेतनाको कमी हो । त्यसैगरी दोस्रो बुँदामा भनिएको छ— रचियताहरूमा सचेतनताको अभाव छ ।
यस आधारमा गजुरियल विश्लेषक भन्छ— सबैभन्दा पहिले आफ्नो प्रतिलिपि अधिकारप्रति स्रष्टा स्वयम् जागरूक हुनु जरुरी छ । सर्वसाधारणमा यससम्बन्धी ज्ञान कम भएकाले कानुन कार्यान्वयन एकाइले पनि सचेतना र कारबाहीलाई सँगसँगै अघि बढाउनुपर्ने गजुरियल ठम्याइ छ । पाइरेसी कानुनलाई टालटुल, छोपछाप र टाकटुक पारामा मिलाउन खोजियो भने दुखद घटना दोहोरिरहनेछन् ।
दीपकराज गिरी
दुई दशकदेखि रियल सहकर्ममा रहेका दीपक विवादमा तानिँदा गजुरियल स्तम्भकारलाई धेरै दु:ख लागेको छ । स्वभावगत हिसाबले सहयोगी एवं मिलनसार दीपकराज गिरी स्वयम्ले भनिसकेका छन्— मेरो दोष प्रमाणित भए कारबाही भोग्न तयार छु । अब उनीमाथी निरन्तर आक्रमण गरिरहनु न्यायसंगत होइन भन्ने गजुरीयल ठम्याइ छ । बस्, अनुसन्धान निष्पक्ष होस्, न्याय नबिकोस्, सत्य नझुकोस् ।
कहिलेकाहीं मान्छे परिबन्दमा परेर फस्छ । बोलीको प्रभाव गोलीभन्दा घातक हुन सक्छ । यदि त्यस्तो रहेछ भने कानुनलाई त उसले बेहोर्नैपर्छ, तर कसैको एउटा गल्तीलाई आधार बनाएर उसका ९९ वटा योगदान बिर्संदै तथानाम गाली गर्नु प्राकृतिक कानुनविपरीत कार्य हो । असन्तुष्टि जाहेर गर्ने शिष्ट उपाय हुँदाहुँदै अशिष्टतामा उत्रनु अप्राकृतिक हो ।
अन्त्यमा, स्व. कृष्णको परिवार भएर सोच्दा सबैभन्दा ठूलो पीडा उहाँहरूलाई भएको छ । घरको दियो निभेको छ । परिवारको आशाको त्यान्द्रो चुँडिएको छ । आफन्तको आशा र भरोसा टुटेको छ । कृष्णको मृत्युमा छक्कापन्जा टिमको नाम जोडिएको छ । पीडित परिवारप्रति टिम स्वयंले भेट गर्नु र यो विवादलाई साम्य पार्नु उपयुक्त हुने गजुरियल ठम्याइ छ ।
Tags
Entertainment
Post a Comment