सबै तस्बिरहरूः नारायण महर्जन
फिल्म ‘लभ साशा’ प्रिमियर हुँदा रातो गाउनमा खुलेकी केकी निकै हँसिली देखिन्थिन्। तीन दिनपछि भेट्दा फिल्मकी साशा बाक्लो रातो कोटले ढाकिएकी थिइन्। उनको अनुहारमा भने अँध्यारोले छोपेको थियो।
फिल्मले त राम्रै प्रतिक्रिया पाइरहेको थियो। केकीको अभिनय पनि मन पराइएकै थियो। तै पनि उनी किन निराश?
‘कस्तो ब्याड न्युज है!’
शुक्रबार आफ्नै फिल्म हेर्न हलमा पुगेकी उनले मोबाइल स्क्रिनमा देखिन्, ‘छक्कापञ्जा पाइरेसी गर्नेले आत्महत्या गरे।’
उनी दुःखी हुनुको कारण यसो पो रहेछ
उनले चिन्दै नचिनेकाको मृत्युले त यति दुःखी हुने उनले केही दिनमै र्यापर यमबुद्धको आत्महत्याको खबर सुन्नुपर्यो। उनी अभिनित ‘श्री ५ अम्बरे’ मा यमबुद्धले गीत गाएका थिए। देश–विदेशका केही कार्यक्रममा त उनीहरुसँगै सहभागीसमेत भएका थिए।
आफू कार्यकारी निर्मातासमेत रहेको र करिअरका लागि निकै फलदायी हुने अनुमान लगाएको फिल्म ‘लभ साशा’ सँग मृत्युको अर्को घटना पनि जोडिन्छ। त्यो हो, फिल्म सुटिङ हुँदा–हुँदै फिल्म निर्देशक प्रचण्डमान श्रेष्ठका बाबुको देहान्त भएको थियो।
कलाकारले अभिनय गर्नुअघि दिमागमा आफूभन्दा बेग्लै चरित्र निर्माण गर्नुपर्छ। मृत्युजस्ता दुखद खबरले मस्तिष्कमा हलचल ल्याउने नै भयो। पूरै फिल्मभरि आफूले के–कस्तो गर्ने भन्ने सोचिरहेको अभिनेताका लागि यस्तो परिस्थिति निकै तनावपूर्ण हुन्छ।
प्रचण्डका बाबुको निधनपछि सुटिङ रोकियो। साशाको भूमिकामा अभिनय गरिरहेकी केकीलाई खासै अप्ठ्यारो परेन।
सबैभन्दा दुःख त उनलाई आलोक नेम्वाङको आत्महत्याले दिएको रहेछ। त्यतिबेला उनी सुटिङमै थिइन्। म्युजिक भिडियो हुँदै फिल्ममा आइपुगेकी केकीले आलोकका थुप्रै भिडियोमा अभिनय गरेकी थिइन्।
यी त भए अलि परका घटना।
एकपटक केकी आफ्नै घरभित्र समस्याको जञ्जालमा फसेकी थिइन्।
एक्कासि पत्रिकामा उनका बाबुआमाको फोटोसहित घरजग्गा लिलामीको सूचना छापिएको दिन थियो त्यो। ऋण तिर्न नसकेर उब्जिएको परिस्थितिको पहिल्यैदेखि साक्षी थिइन् उनी। उनी एकातिर पढाइमा व्यस्त थिइन् भने अर्कातिर फिल्ममा नाम बनाउन संघर्षरत थिइन्।
प्रतिस्पर्धाको जमाना छ। केहीलाई छोडेर हरेक फिल्मबाट नयाँ–नयाँ अभिनेत्री भित्रिन्छन्। रंगमञ्चबाट आएका अभिनेताको जगजगी चलेको समय थियो त्यो। रंगकर्मी तथा फिल्म निर्देशककी छोरी हुनुका नाताले उनमा ‘सेल्फ प्रेसर’ पनि थियो र फिल्मक्षेत्रले आश गरेकी अभिनेत्री पनि।
त्यही समय उनले भटाभट फिल्म पनि पाइरहेकी थिइन्। के यस्तो अवस्थामा एउटा कलाकारले मन फुकाएर अभिनय गर्न सक्छ? उसले निर्वाह गरिरहेको चरित्रमा कुनै असर पर्दैन?
‘घरजग्गा लिलामीको समाचार अरूका लागि नौलो थियो होला,’ केकी भन्छिन्, ‘मेरा लागि थिएन। त्यस्तो होला भनेर मैले पहिल्यै देखिसकेकी थिएँ। तर, फेसबुकमा समाचारका अनेक लिंक पठाइन्थ्यो। मानौं, कलाकार भावना नै नभएको मान्छे हो। कसैले प्याच्च बोल्दा त मन कस्तो दुख्छ, त्यस्तो हुँदा झन् के हुन्थ्यो होला? कसैले सायदै सोच्थ्यो।’
उनको बुझाइमा कलाकार आम–मानिसभन्दा अलि भावुक प्रकृतिको हुन्छ। उसलाई स–साना कुराले पनि बिझाउँछ। त्यसैले उसले गरिरहेको काममा असर पर्ने नै भयो।
अर्कातिर उनका बुझाइले यो पनि भन्छ, कलाकारमा समस्यासँग जुध्ने सामथ्र्य पनि उत्तिकै बढी हुन्छ। कलाकार बढी चर्चामा रहने पेशाकर्मी हो। चर्चा सधैं राम्रो हुन्छ भन्ने छैन। राम्रा र नराम्रा दुवैखाले चर्चाले कलाकारलाई झनै सहनशील बनाउने उनी बताउँछिन्। समस्या परे झट्टै समाधानको उपाय पनि कलाकारले निकालिहाल्छन्।
‘आफ्ना होस् या अरुका–मान्छे न हो, दुखद घटनाले हलचल त ल्याउँछ नै,’ उनी भन्छिन्, ‘झमझम पानी परोस्, तीन दिन नसुतेको होस्, हिउँ होस्, मरुभूमि होस् कलाकारले अभिनय गर्दा बाहिरी कुरा सबै बिर्सिन्छ। मलाई लाग्छ, कलाकारको स्वभाव नै यही हो।’
यी सबै झेलेर आइसकेपछि केकीलाई अहिले लाग्छ, कुनै पनि भोगाइ यत्तिकै खेर जाँदैनन्। कलाकारका लागि त त्यो भोगाइ झनै कामलाग्दो बनिदिन्छ।
‘अभिनय गर्दा तिनै चिजहरु काम लाग्छन्,’ उनी भन्छिन्, ‘आफूले भोगिसकेको परिस्थितिमा अभिनय गर्दा झनै सजिलो पनि हुन्छ।’
अभिनय गर्दा आफूलाई कुनै चरित्रमा ढाल्न उनी आफ्नो भोगाइ मात्र होइन, साथीसंगीका अनुभव, समाजमा देखेका कुरालाई प्रयोगमा ल्याउँछिन्।
त्यसबाहेक उनले सबैभन्दा धेरै सापटी लिने ठाउँ हो, पुस्तक। अभिनयका लागि अध्ययन एकदमै जरुरी हुने र अध्ययनबाटै आफूले चरित्रलाई चाहिने तत्वहरु लिने गरेको उनको भनाइ छ।
‘कुनै चरित्रलाई अभिनयमा उतार्दा कलाकारको बुझाइ कस्तो छ भन्नेले ठूलो अर्थ राख्छ,’ उनले भनिन्, ‘अध्ययन र जीवन भोगाइले बुझाइमा फरकपना ल्याउँछ।’
अध्ययन, देखे–भोगेका कुरामा कल्पना मिसाएपछि बन्छ, एउटा पूर्ण चरित्र। कलाकारले आफूभन्दा बेग्लै, अरुले गरिसकेको भन्दा बेग्लै गर्नुपर्छ भन्ने मान्यता हुन्छ।
केकीलाई एउटा कुरा भने खट्किन्छ, उनले अहिलेसम्म त्यस्ता चरित्र गरेकी छैनन् रे! हिन्दी फिल्म हेरेर हुर्केकी र टेलिभिजनमा बज्ने हिन्दी गीतकै भिडियोको प्रभावले उनको झुकाव नृत्यतिर थियो। माधुरी दीक्षितको प्रभाव त एकदमै धेरै। माधुरीले फिल्ममा जसो–जसो गर्थिन्, केकी टपक्क टिप्थिन्। माधुरीका चालढाल सबै टिप्न सकेकोमा उनलाई खुसी लाग्थ्यो।
अनि सोच्थिन्, अभिनय गर्न के गाह्रो छ र? हावामा कपाल लहरायो, मसक्क मस्कियो, आँखा झिम्क्यायो। बस्! यत्ति त हो अभिनय भनेको।
उनले सुरु–सुरुमा जति फिल्म गरिन्, स्वीकार्छिन्, ‘ती फिल्ममा अभिनय गर्दा ममा सबैभन्दा धेरै माधुरी दीक्षित, त्यसपछि श्रीदेवी, करिना कपुरहरुको प्रभाव बढी थियो।’
मसान, सावित्री, लभ साशाजस्ता फिल्ममा अभिनय गरेपछि भने उनको बुझाइ बदलिएको छ र अभिनय गर्नु साह्रै गाह्रो काम हो भन्ने लाग्छ। जनजीवनमै देखिने चरित्रलाई आफूमा ढाल्दा गाह्रो हुनुका साथै बेग्लै आनन्द मिल्ने उनको भनाइ छ।
भिन्न–भिन्न शैलीका निर्देशकसँग काम गरिसकेकी केकीको अनुभवमा फिल्म निर्देशकको माध्यम भएकाले निर्देशक राम्रो परे कलाकारले चरित्रलाई जीवन्त बनाउन सक्छ।
‘फिल्म निर्देशककै सोच हो,’ उनी भन्छिन्, ‘पछिल्लो फिल्म लभ साशामा काम गर्दा मैले एकदमै राम्रो निर्देशकसँग काम गर्न पाएँ। उहाँ हरेक पात्रलाई लिएर स्पष्ट हुनुहुन्थ्यो।
निर्देशकले स्पष्ट रुपमा चरित्रबारे भनिदियो भने कलाकारलाई झनै सजिलो हुन्छ। लभ साशामा साशाको भूमिका निर्वाह गर्दा मलाई त्यति गाह्रो भएन तर आनन्द मिल्यो। लभ साशा खेलेपछि मलाई लाग्यो, बल्ल म माधुरी दीक्षितबाट उम्किएँ।’
निर्देशकले चरित्रबारे केही भनेको छैन भने केकी आफैं तयार पार्छिन्। फिल्मको कथा पढिसकेपछि कथाको पात्र र पढेको वा देखेको पात्रलाई त्यससँग मिसाउँछिन्। र, निर्देशकलाई सुनाउँछिन्। निर्देशकसँग कहिलेकाहिँ ठाकठुक पनि पर्ने रहेछन्।
जीवन जति भोग्दै गयो, त्यति नै नयाँ–नयाँ बुझाइ बन्दै जान्छन्। त्यो बुझाइ परिपक्वताको संकेत हो। केकी अभिनयमा परिपक्व बन्दैछिन्।
यतिबेला उनी बारम्बार बाबुको भनाइ सम्झिन्छिन्। अभिनयमा लाग्नुअघि उनका बाबुले भनेका थिए, ‘जीवन जति भोग्यो, त्यति गाह्रो हुँदै जान्छ छोरी।’
केकीले उतिबेला यो कुरा बुझेकी थिइनन्, अहिले भेउ पाउँदै छिन्।
अचेल केकीलाई व्यावहारिक जीवनका धेरै कुरा आफूबाट छुट्दै गएजस्तो लाग्छ। आम–मानिसले जीवन कसरी भोगिरहेका छन्, सामान्यभन्दा सामान्य मानिस देशको अवस्थालाई लिएर कस्ता कुरा गर्छन्, दूधको मूल्य कति पुग्योजस्ता कुरा जान्न उनलाई मन हुँदो रहेछ।
यही जान्न उनले केही दिन टेम्पो चढिन्। मुख ढाकिने गरी मास्क र चस्मा लगाइन्। हातमा मोबाइल चलाएजस्तो गरे पनि उनका आँखा र कान सिटछेवैका यात्रुतिर हुन्थे। उनीहरु के–कस्ता कुरा गर्छन् उनलाई जान्नु थियो। ड्राइभरलाई यो ठाउँमा झारिदिनुस् भन्दा कतिले स्वरबाट आफूलाई चिनेजस्तो लाग्दो रहेछ उनलाई। आँखामा एकटकले हेरिरहँदा रहेछन्। त्यसैले उनी अचेल फरक स्वर निकाल्ने अभ्यासमा छिन्। ट्याक्सी चढ्दा भने चालकसँग पहिलेभन्दा बढ्तै गफ गर्ने उनी बताउँछिन्।
‘यसले मलाई आममानिसले भोगिरहेका धेरै कुराको जानकारी हुन्छ,’ उनले भनिन्, ‘मलाई ग्राउन्डेड हुन सिकाउँछ।’
उनका अहिलेसम्म कुनै फिल्म सुपरहिट भएका छैनन्। त्यसैले केकी आफूलाई ‘ग्राउन्डेड एक्ट्रेस’ भन्न रुचाउँछिन्।
‘हुन त नेपालका कलाकारको जीवन भोगाइ हलिउड/बलिउडको जस्तो छैन,’ उनले भनिन्, ‘अलिकति मात्र फरक हो, नत्र भने धेरै कलाकारको भोगाइ पनि आममान्छेको जस्तै हो। मेरो हकमा भन्ने हो भने, मेरा फिल्म सुपरहिट छैनन्। त्यसैले झनै ग्राउन्डेड बनाएको छ जस्तो लाग्छ।’
Tags
Entertainment




Post a Comment