माघ ११, २०७३- भुइँचालो गएपछि वसन्तपुर क्षेत्रका मठ मन्दिरमा लगाइएको बार बनाउँदा जमिनमुनि बियरका बोतल प्रयोग गरेको पाइएको छ । पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले उत्खनन गर्ने क्रममा बियरको बोतल प्रयोग गरेको भेटिएको हो ।
भुइँचालो गएको केही महिनापछि काठमाडौं महानगरपालिकाले सम्पदालाई बार लगाएको थियो । बार लगाउने क्रममा जगमुनि सिमेन्ट, इँटा र बियरको बोतल मिसाएको भेटिएको हो । स्थानीयवासीका अनुसार ठेकेदारले रातिराति काम गरेका थिए । ‘राति किन काम गरे भनेर अचम्म लागेको थियो,’ सम्पदा बचाऊ अभियानमा सक्रिय आलोकसिद्धि तुलाधर भन्छन्, ‘यस्तो निच काम गर्न पो रहेछ ।’
विश्व सम्पदा क्षेत्रमा परम्परागत रूपमा जे सामानबाट बनेको हो, त्यही सामान मात्रै प्रयोग गर्न पाइन्छ । यहाँका मठ मन्दिर, दरबार चुना, सुर्की र बालुवा प्रयोग गरी बनाइएका हुन् । यहाँ पुरातात्त्विक मापदण्डअनुसार सिमेन्टसमेत प्रयोग गर्न पाइँदैन । तर, यहाँ सिमेन्ट प्रयोग भएको छ । यो घटनाले ठेकेदारलाई काम दिँदा अनेक गरी सम्पदा मासिदिने चिन्ता भएको तुलाधार बताउँछन् ।
सम्पदा पुननिर्माण गर्दा जमिनमुनिको सम्पदा पनि जोगाउनुपर्ने स्थानीयवासीको माग छ । ‘ठेक्कामा दिँदा सम्पदा जोगिँदैन भन्ने अर्काे उदाहरण हो सम्पदामा गरिएको यो लापरबाही,’ उनी भन्छन्, ‘थोरै पैसाको लोभले त यस्तो तल्लो स्तरको काम गर्छन् भने झन् ठूलो योजनामा के गर्लान् ?’ काठमाडौं महानगरले झन्डै १६ लाख रुपैयाँ ठेक्कामा यो काम दिएको महानगरका इन्जिनियर कवीन्द्र नकर्मीले जानकारी दिए ।
महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र आयोजनाका प्रमुख उदय पसखलका अनुसार माजुु देग, वंशगोपाल, त्रैलोक्यमोहन, काष्ठमण्डपलगायत सम्पदामा तारबार लगाइएको छ । तत्कालीन प्रमुख हरिकुमार श्रेष्ठको कार्यकालमा यो काम भएको उनले जानकारी दिए ।
यहाँ बोतल राखिएको बारे आफूलाई जानकारी नभएको पसखलले जानकारी दिए । ‘अब सम्पदा बनाउँदा हाम्रा प्राविधिकलाई चौबीसै घण्टा निगरानीमा राख्न लगाउँछौं,’ उनले भने ।
यहाँका अधिकांश सम्पदा मल्लकालका र कुनै–कुनै लिच्छविकालका समेत छन् । काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भइसकेको छ । यसको निर्माता लीलावज्र हुन् । यो सत्तल वज्रयानी दर्शनमा बनेको हो ।
...
माजुदेग भक्तपुरका राजा भूपतिन्द्र मल्लकी आमा ऋद्धि लक्ष्मी मल्लले बनाउन लगाएकी हुन् । यसको निर्माण सन् १६८९ मा गरिएको हो । ९ पेटीमाथि तीनतले प्यागोडा शैलीको मन्दिरभित्र शिवलिंग रािखएको थियो । भुइँचालोले मन्दिरको जगैसम्म भत्किएको छ ।
नौवटा सिँढी माथिबाट वसन्तपुर क्षेत्रका सबै मन्दिर र दरबार देखिन्छ । अहिले भर्याङको मुखैमा तारबारको ढोका लगाइएको छ । सर्वसाधारण महादेवको दर्शन गर्न जान पाउँदैनन् ।
पुरातत्त्व र दुरहाम विश्वविद्यालयको टोलीले माजु देग पनि उत्खनन् गरेको थियो । उत्खनन् गर्ने क्रममा यही गेटछेउ लगाइको तारबार खन्दा पुरातात्त्विक मान्यताविपरीत सामान प्रयोग गरेको भेटिएको थियो ।
वंशगोपाल मन्दिरमा पनि तारबार लगाइएको छ । वसन्तपुर क्षेत्रको तगो गननजिकै छ यो मन्दिर । यहाँ मन्दिरको दुई भर्याङमा ढुंगाको स्तम्भ छ । तीनतले यो मन्दिर शिखर शैलीको छ । मन्दिरभित्र कृष्ण, रुक्मिणी र सत्यभामाको मूर्ति छ । यसको निर्माण प्रताप मल्लले सन् १६४९ मा गर्न लगाएका हुन् । यो मन्दिरलाई पनि शोकको प्रतीकका रूपमा लिइन्छ । आफ्ना दुई रानीको मृत्यु भएपछि अर्काे जुनीमा दुवैको पुनर्मिलन होस् भनेर मन्दिर बनाउन लगाएको इतिहास छ । नेवारी भाषामा च्यासी देग भनेर पनि चिनिन्छ यो मन्दिर ।
त्रैलोक्य मोहन मन्दिर पनि मल्लकालीन हो । यहाँको नारायणको मूर्ति देशभरिको मूर्तिमध्ये राम्रो रहेको मन्दिरका पुजारी दीपकप्रसाद श्रेष्ठ बताउँछन् ।
महानगरले ठेक्काबाट बनाउन लागेका अधिकांश सम्पदा विवादित भएका छन् । पुरातात्त्विक मापदण्डविपरीत बनाएको भन्दै सर्वसाधारण आन्दोलनमा समेत उत्रिएका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले काष्ठमण्डप, हनुमानढोकालगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै ६ महिनापहिल्यै गम्भीर चासो व्यक्त गरिसकेको छ ।
‘फेरि पनि युनेस्कोले विश्व सम्पदाबाट हटाइदिने जोखिम बढेको छ,’ सम्पदा बचाऊ अभियान चलाइरहेका आलोकसिद्धि भन्छन्, ‘हाम्रा सम्पदा नष्ट भएको हामी टुलुटुलु हेरेर बस्दैनौं ।’
महानगरपालिकाले पुरातात्त्विक मूल्य मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा पनि सम्पदाको विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।
‘सन् १६६० मा निर्माण भएको काठमाडौंकै प्रसिद्ध चिहन स्थलका रूपमा परिचित धार्मिक महत्त्वको ऐतिहासिक संरचना रानीपोखरी अनुपयुक्त ढंगबाट हुन गइरहेको पुनर्निर्माणप्रति युनेस्कोले गम्भीर चासो राखेको छ,’ युनेस्कोको काठमाडौं कार्यालयले विज्ञप्तिमा भनेको छ ।
मापदण्डविपरीतका काम तुरुन्त रोक्न काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागलाई आग्रह गरेको छ । विभागलाई प्रभावकारी अनुगमन भएको अनुभूति गराउनसमेत युनेस्कोले आग्रह गरेको छ ।
रानीपोखरी निर्माणमा देखाएको व्यवहारले विश्व सम्पदामा सूचीकृत काष्ठमण्डप र सिंहसत्तल निर्माणमा पनि युनेस्कोले शंका व्यक्त गरेको थियो । प्रताप मल्लले बनाएको रानीपोखरीमा महानगरले सिमेन्ट, रड र रोडा प्रयोग गरेको थियो । मापदण्डविपरीत रानीपोखरी बीचको यमलेश्वर महादेव मन्दिर पुनर्निर्माण भएपछि स्थानीयवासीले विरोध गरेका थिए ।
स्थानीयको विरोधपछि पुरातत्त्व विभागले पुनर्निर्माण रोक्न महानगरलाई निर्देशन दिएको थियो । महानगरले बनाउन नसक्ने जनाएपछि पुरातत्त्वले नै रानीपोखरी पुनर्निर्माण गर्ने भएको छ । सम्पदा पुनर्निर्माणमा स्थानीयवासीको ध्यानाकर्षणलाई युनेस्कोले स्वागतसमेत गरेको छ । ‘पुनर्निर्माण प्रक्रियामा सामुदायिक प्रतिनिधत्वलाई एकीकृत गरिनुपर्छ,’ युनेस्कोले भनेको थियो ।
ऐन, नियमको अप्ठयारो देखाएर शंकास्पद निर्माण गरियो भने आउँदो पुस्ताले हामीलाई सराप्ने विज्ञहरू बताउँछन् । पुनर्निर्माणलाई सजिलो हुने गरी कानुन निर्माण गर्न सकिने सांसद भीमसेनदास प्रधान बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाही यही कानुनी अवस्था रहे सम्पदा पुनर्निर्माण हुन नसक्ने बताउँदै आएका छन् ।
‘काष्ठमण्डप बनाउन काठ सरकारले दिने भएको छ,’ शाही भन्छन्, ‘सरकारले दिएपछि काठको गुणस्तरमा शंका गर्नु पर्दैन ।’
भएकै कानुनबाट पनि सम्पदा ज्यालामा दिने व्यवस्था गर्न सकिने सांसद प्रधान बताउँछन् । २० वर्ष पहिला वसन्तपुर क्षेत्रकै स्वैत भैरव पुनर्निर्माण ज्यालामा गरिएको थियो । त्यसका लागि स्थानीयवासीले चन्दा उठाएका थिए । चन्दा रकममा महानगरले अनुदान दिएको थियो ।
स्वेत भैरव बनाएर १ करोड रुपैयाँ बाँकीसमेत रहेको वीरेन्द्रभक्त प्रधान बताउँछन् । ‘अहिले पनि यही मोडलमा जान सकिन्छ,’ प्रधान भन्छन्, ‘सरकारले दिने पैसा महानगरमा दिन सकिन्छ । महानगरले अनुदान दिएर ज्यालामा काम लगाउन सक्छ ।’ ठेकेदारलाई दिँदा बजेटसमेत चुहिने र त्यसले राम्रो काम नहुने उनी बताउँछन् ।
काष्ठमण्डप ज्यालामा दिन माग उठेपछि यसलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भनेर महानगरपालिकाले पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु काकी, वरिष्ठ वास्तुविद् सुदर्शनराज तिवारीलगायत विज्ञ समिति बनाएको थियो । विज्ञ टोलीले ठेक्कामा दिए पनि टुक्रा–टुक्रा बनाएर दिन सुझाव दिएको छ ।
‘सार्वजनिक खरिद ऐन संशोधन गरी ज्यालामा दिनु राम्रो हुन्छ,’ तिवारी भन्छन्, ‘सार्वजनिक खरिद ऐनअनुसारै काम गर्ने हो भने टुक्रा–टुक्रा गरी ठेक्का दिनु राम्रो हुन्छ । काठको एउटालाई, इँटाको ठेक्का एउटालाई । यसो गर्दा गुणस्तर कायम गर्न सकिन्छ ।’ टुक्रा पनि दिन नमिल्ने भन्दै महानगरले एकमुष्ट ठेक्का दिने तयारी गरेको छ । काष्ठमण्डप ठेक्कामा दिन ठेकेदारको ‘प्रि–क्वालिफिकेसनसमेत माग गरिसकेको छ ।

Post a Comment