चौतारा– मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए। राजधानीवासीलाई आगामी २०७४ सालको बडादसैँ अगाडि खानेपानी वितरण गर्ने लक्ष्य छ । बाँकी ५ किमी सुरुङ पनि आउँदो असार–साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भट्टराईले बताए।
विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएकामा सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किमी सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५ किमि खुल्न बाँकी रहेको छ । हाल चार स्थानबाट दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।
अम्बाथानबाट खन्न लागिएको सुरुङ मार्गमा कमसल भूभाग निस्केको कारण बढी खन्न नसकिएको हो। कडा चट्टानको बदला ग्राभेल जस्तो कमसल ढुङ्गा निस्केको हँुदा सो भाग सकिएपछि दैनिक २५ मिसम्म खन्न सकिने कार्यकारी निर्देशक भट्टराईले बताए।
त्यसैगरी लार्के र याङ्ग्रीबाट लगिने दोस्रो र तेस्रो चरणको डिजाइनको काम पनि सुरु गरिएको छ। डिजाइनको काम सकिएपछि बजेटको व्यवस्थाका लागि मन्त्रालयमा पेस गरिने र बजेट निकासा भएपछि काम सुरु गरिने भट्टराईले बताए। प्रथम चरणमा दैनिक १७ करोड लिटर तथा दोस्रो र तेस्रोबाट थप ३४ करोड लिटर पानी लगिने आयोजनाको लक्ष्य रहेको छ। रासस
Tags
News

Post a Comment