काठमाडौं, १२ माघ । ‘तिरिरी मुरली बज्यो बनैमा…’ गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ । लामो सयमयदेखि बिरामी रहेका गायक शाक्यको बुधबार बिहान टेकुस्थित निवासमा निधन भएको हो ।
१९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका गायक शाक्यले २००४ सालदेख गीत गाउन थालेका हुन् । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उनले स्वर्ण पदक जितेका थिए । रेडियो नेपालमा जागिरे उनले २०४० सालपछि रेडियो छोडेका थिए ।
चार सयभन्दा धेरै गीत गाएका उनको डेढ दुई सय गीत मात्र उपलब्ध छ । तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छलगायत उनले गाएका गीत निकै लोकप्रिय छ । पन्नाकाजीले गाएको ‘तिरिरी मुरली बज्यो बनैमा…’ बोलको गीतलाई गायक प्रवेशमान शाक्यले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । प्रवेशमान पन्नाकाजीका छोरा हुन् ।
मविवि शाहको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीत सबैभन्दा पहिले उनले नै गाएका हुन् । पछि मात्र गुलाम अलिको स्वरमा सो गीत रेकर्ड गरिएको थियो । उनका चार छोरा र एक छोरी छन् । दुई छोरा गीत संगीतम सक्रिय छन् । पन्नाकाजीको बुधबार नै अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।
Tags
Main

Post a Comment