माघ १२, २०७३- ज्यादा भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा पर्ने नेपालको स्थिति अघिल्लो वर्षको तुलनामा केही सुध्रिएको छ । तर, नेपालको स्थान भने सूचीमा एक अंकले पछाडि परेको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) अनुसार, नेपालले गत वर्षको तुलनामा २ अंक बढी पाएपछि सूचीमा एक अंक पछाडि परेको छ ।
गतवर्ष २७ अंकका साथ १३०औं स्थानमा रहेको नेपाल सन् २०१६ मा २९ अंक पाएर १ सय ३१ औं स्थानमा पुगेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने काम प्रभावकारी हुन नसकेको टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले बताए । ‘भ्रष्टाचारीहरु खरायोको गतिमा फड्को मारे’ अर्यालले पत्रकार सम्मेलनमा भने, ‘तर भ्रष्टाचार नियन्त्रणमा सक्रिय हुनुपर्ने निकायहरु भने कछुवाको तालमा रहे ।’
सीपीआई मापन गरिने अन्य सूचकांकमा खासै ठूलो फेरबदल नदेखिए पनि ‘व्यापार व्यवसायमा हुने भ्रष्टाचारको प्रभाव’को अंकमा नेपालले छवि विगारेको छ । प्रत्यक्ष सर्वेक्षणमा संलग्न नहुने ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको सर्वेक्षणका आधारमा भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई) तयार गर्छ ।
नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता जवाफदेहिता र भ्रष्टाचार, सेवाका लागि दिनुपर्ने घुस, सरकार न्यायालय र संसदका प्रतिनिधिले गर्ने पदको दुरुपयोग, व्यापार/व्यवसायमा भ्रष्टाचार जस्ता विषयमा ६ संस्थाले गरेको सर्वेक्षणलाई आधार बनाइएको थियो । अरु सर्वेक्षणको अंक गतवर्षकै जस्तो भए पनि राजनीतिक सुशासन र व्यापारिक क्षेत्रमा भएको सर्वेक्षणमा स्थिति खस्किएको छ ।
Tags
News

Post a Comment