कप्तान सर्जियो रामोसले हानेको दुई गोलका कारण रियल म्याड्रिडले स्पेनिस लिगमा भोगेको लगातार दुई खेलको पराजयको सिलसिलालाई रोकेको छ।
दुई साताअघि ४० खेल अपराजयको कीर्तिमान बनाएको म्याड्रिड त्यसपछि लगातार दुई खेलमा पराजित भएको थियो। यसका कारण प्रशिक्षक जिनेदिन जिदानको आलोचना भइरहेको बेला शनिवार मालागाविरूद्धको खेलमा रामोसले पुनः टोलीमा आफ्नो महत्व प्रमाणित गरे।
उनले ३५ र ४३ मिनेटमा दुई गोल गरेपछि म्याड्रिड पहिलो हाफमै स्पष्ट अग्रता बनाउन सफल भयो। रामोसले पहिलो गोल लुका मोर्डिकको कर्नरमा हेडिङद्धारा गरे। अर्को गोल टोनी क्रुजको क्रसमा गरेका थिए।
मालागाका लागि ६३ मिनेटमा अनोर अकोस्टाले गरे। २–१ ले म्याड्रिड विजयी यस खेलमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा दुवै गोल गर्नबाट चुकेका थिए। मालागाविरूद्धको खेलमा विजयी भएपछि म्याड्रिडको लिग तालिकामा ४३ अंक पुगेको छ। म्याड्रिड हाल लिगको शीर्षस्थानमा छ।
Post a Comment