काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जुनसुकै बेला बाहिरिन सक्ने भन्दै आफ्ना मन्त्रीलाई तयार भएर रहन निर्देशन दिएको छ ।
राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् विस्तार, राजनीतिक संवादलगायत विषयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एकलौटी गरेको आरोप लगाउँदै राप्रपाले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
दुई राप्रपा एक भएसँगै राप्रपाले सरकारमाथि दबाब बढाउँदै लगेको छ । शनिबार प्रधानमन्त्रीले बोलाएको चारदलीय बैठक पनि राप्रपाले बहिष्कार गरेको थियो । प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा सहभागी नभई राप्रपा अध्यक्ष कमल थापा पार्टी काममा भन्दै गृहजिल्ला मकवानपुर गएका थिए ।
केही दिनदेखि राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित दुई मन्त्री नपाए कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेतालाई आफूहरू सरकारबाट बाहिरिन सक्ने चेतावनी दिँदै आएका छन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेका थापाको महत्वाकांक्षा चुलिँदै गएपछि उनले दुई राप्रपा एकीकरण गरेर आफ्नो ‘बार्गेनिङ पावर’ बढाएका छन् । स्रोतका अनुसार संविधान संशोधन विधेयक परिमार्जन गरी हिन्दु राष्ट्रलाई पनि समावेश गर्नुपर्ने उनको माग छ ।
राप्रपाको असन्तुष्टिसँगै संविधान संशोधनका लागि दुई तिहाइ मत पुर्याउने कांग्रेस–माओवादी केन्द्रको रणनीतिमा धक्का पुग्ने देखिएको छ । व्यवस्थापिका–संसदमा दुई राप्रपा एक भएपछि सांसद संख्या ३७ पुगेको छ ।
सरकारमा राप्रपाका तर्फबाट दीपक बोहोरा आपूर्तिमन्त्री र विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री छन् । राप्रपाका एक नेताका अनुसार जुनसुकै बेला सरकारबाट बाहिरिने गरी तयारी अवस्थामा रहन दुवै मन्त्रीलाई अध्यक्ष थापाले निर्देशनसमेत दिएका छन् ।
न्यायाधीश तथा संवैधानिक निकायहरूमा नियुक्ति, राष्ट्रका मूलभूत विषयमा राजनीतिक संवाद, मन्त्रिपरिषद् विस्तार, संविधान संशोधन विधेयकलगायत गम्भीर विषयमा छलफल नगरेपछि थापा प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीको सल्लाहबमोजिम राप्रपा अध्यक्ष थापा प्रचण्ड सरकार ढाल्ने अभियानमा लागिसकेका छन् । सरकारमा रहँदा थापाले अहिलेसम्म ओली सरकारलाई मात्र असहयोग नगरेका हुन् । यसअघि आफैं सहभागी सरकार ढाल्न थापाले प्रमुख भूमिका खेलेका थिए ।
सरकारबाट बाहिरिन सक्ने भन्दै राप्रपाले दियो आफ्ना मन्त्रीलाई निर्देशन, यस्तो रहेछ कारण
aaasss
0
Comments
Tags
News

Post a Comment