Header Ads


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ३० लाख मानिसहरुले अवैध रुपमा मतदान गरेकोले आफूले जनताको प्रत्यक्ष मत 'पपुलर भोट'मा आफ्नी प्रत्यासी हिलरी क्लिन्टनसँग हारेको भन्ने दाबी दोहोर्याइरहँदा रिपब्लिकनका प्रभावशाली रिपब्लिकन नेताहरुले त्यसबारे ट्रम्पको आलोचना गरेका छन्।
ह्वाइट हाउसले भने राष्ट्रपतीय चुनावमा लाखौं मानिसहरुले गैरकानूनी तरिकाले मतदान गरेको भन्ने दाबी अध्ययन र प्रमाणमा आधारित रहेको बताएको छ।
तर मतदान अवैध भएको भन्ने दाबीलाई व्यापक रुपमा अस्वीकार गरिएको छ।
'प्रमाणमा आधारित'
राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले ट्रम्पले चुनावका बेला अवैध रुपमा मतदान भएको भन्ने कुरालाई विश्वास गरेको बताए।
तर सञ्चारकर्मीहरुले ट्रम्पको यस्तो दाबीलाई समर्थन गर्ने प्रमाण के छ भन्दा उनले त्यस्तो प्रमाण भने दिन सकेनन्।
ट्रम्पले चुनावमा फर्जी मत खसेकाले पपुलर भोटमा आफ्नी प्रत्यासी हिलरी क्लिन्टनसँग हारेको भन्ने दाबी दोहोर्याउँदै आएका छन्।
मंगलबार सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता स्पाइसरले ट्रम्पको विश्वास, मानिसहरुले उनलाई देखाएको अध्ययन र प्रमाणमा आधारित भएको बताए।
सोमबार ट्रम्पले सांसदहरुसँग गोप्य छलफल गर्दा कागजात बिना अमेरिकामा अवैध रुपमा बसिरहेका ३० देखि ३५ लाख आप्रवासीहरुले मतदान गरेको दाबी गरेका थिए।
जुन बैठकपछि स्पाइसरको यस्तो टिप्पणी आएको हो।

अनुचित
रिपब्लिकन तर्फका सिनेटर लिन्ड्सी ग्राहमले प्रमाण बिना गरिएका ट्रम्पका टिप्पणीहरु राष्ट्रपतिका हैसियतले गर्न उचित नहुने बताए।
उनले उक्त बैठकमा आफू नभएको तर यदि राष्ट्रपतिले मतदान अवैध भएको भनेका हुन् भने त्यसले प्रजातन्त्रप्रतिको आत्मविश्वास धर्मराउने बताए।
उनले मतदानबारे किन शंका छ भन्नेबारे ट्रम्पले खुलाउनुपर्ने बताए।
उनले भने, "यस्ता टिप्पणीहरु बन्द गर्न म राष्ट्रपतिलाई आह्वान गर्छु। तपाईँ खुल्ला विश्वको नेता हो र यदि प्रमाण बिना यस्ता आरोपहरु लगाइरहनुभएको भने यो चुनावी पद्दतीविरुद्ध हुनेछ।"
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख पल रायनले पनि ट्रम्पले झुठा दाबीहरु गर्न बन्द गर्नुपर्ने बताए।

Post a Comment

Previous Post Next Post