Header Ads

काठमाडौंः स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेच्न चाहेको दाबी गरिएको छ। स्पेनिस पब्लिकेसन डन बेलोनले सार्वजनिक गरेको रिपोर्टमा रियल मड्रिडका अध्यक्ष परेजले स्टार खेलाडी रोनाल्डोलाई सन् २०१८ पछि बेच्न चाहेको दाबी गरिएको छ।
रिपोर्टमा परेजले रोनाल्डोको सम्झौता सकिनु अघि नै उनलाई बेच्न चाहेको उल्लेख छ। रोनाल्डोको सम्झौता रियल मड्रिडसँग सन् २०२१ सम्मको छ।तीन लाख ६५ हजार पाउन्ड स्टर्लिङ डलर प्रतिसाता पारिश्रमिक पाउने गरी ३१ वर्षीय पोर्चुगिस खेलाडी क्रिष्टियानो र रियल मड्रिडबीच सन् २०१६ को अन्तिममा सम्झौता भएको थियो।
तर, अध्यक्ष परेजले केही पैसाका लागि स्टार खेलाडी रोनाल्डोलाई अन्य क्लबसँग बेच्न चाहेका छन्। रोनाल्डोलाई २०१८ मा चिनियाँ क्लबसँग बेच्न चाहेको रिपोर्टमा दाबी गरिएको छ। रियल मड्रिडको ड्रेसिङ रुममा रोनाल्डोको प्रभावबारे परेज सचेत छन्। एक समय गोल रक्षक इकर कासिलास र सर्जियो रामोसलाई राम्रै साथ दिँदा परेज रोनाल्डोसँग रिसाएका थिए।
परेजले रोनाल्डोलाई बेच्ने समय आएको बताएको पनि दाबी डन बेलोनले गरेको छ। सन् २००९ मा ८० मिलियन डलरमा रोनाल्डोलाई बर्नबाउ ल्याउँदा लागेको खर्च फिर्ता हुने परेजको योजना रहेको छ।
रोनाल्डोलाई क्लबमा भित्र्याउन धेरै चाइनिज क्लबले चाहेको र मोटो रकम खर्च गर्न तयार छन्। रोनाल्डोले यो सिजन रियल मड्रिडका लागि २२ खेलमा १८ गोल गरेका छन् भने मड्रिडका लागि ३७० खेलमा ३८२ गोल गरेका छन्। रोनाल्डोले सात सिजनमा दुईवटा च्याम्पियन्स लिग फुटबलको उपाधि समेत जितेका छन्।
केही समयअघि कार्लोस टेभेज विश्वकै सवैभन्दा बढी पारिश्रमिक पाउने गरी चिनियाँ क्लब सान्घाई सेनुवामा आबद्ध भएका छन्। रोनाल्डो चिनियाँ क्लबमा आबद्ध भए उनले टेभेजभन्दा दोब्बर बढी पारिश्रमिक पाउने रिपोर्टमा दाबी गरिएको छ।
रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसका अनुसार रोनाल्डो रियल मड्रिडमै रहन प्रतिबद्ध रहेका छन्। मेन्डेसले स्काइ स्पोट्स इटालियासँग भनेका छन्– चिनियाँ क्लबले रोनाल्डोलाई भित्र्याउन ३०० मिलियन युरोको प्रस्ताव रियल मड्रिडलाई गरेको छ। एक सय मिलियन युरो प्रति वर्ष रोनाल्डोलाई दिने प्रस्ताव आएको छ।’

Post a Comment

Previous Post Next Post