Header Ads

काठमाडौं, १२ माघ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रभित्र नेताहरूबीच तीव्र ढंगले ध्रवीकरण भइरहेको छ । जसले गर्दा माओवादी केन्द्रमा अहिले पाँचवटा गुट सक्रिय छन् ।

विभिन्न कम्युनिस्ट पार्टी एकता गरी माओवादी केन्द्र गठन भएकाले पार्टीभित्र गुट देखिनु स्वाभाविकै भए पनि पार्टीको आगामी नेतृत्व आफ्नो हातमा पार्न एक नेताले अर्काेलाई कामै गर्न नदिने वातावरण सिर्जना भएको छ । खासगरी अहिले माओवादी केन्द्रमा अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड नै हाबी छन् । प्रचण्डपछि आफू बलियो बन्न नेताहरूबीच ध्रुवीकरण भएको हो ।
स्रोका अनुसार माओवादी केन्द्रमा अहिले प्रचण्डपछि वर्षमान पुन निकै शक्तिशाली छन् । अध्यक्षले पनि आफ्नो अनुपस्थितिमा वर्षमानलाई नै जिम्मेवारी दिएर पठाउने गरेका छन् । वर्षमानलाई हरिबोल गजुरेल, जनार्दन शर्मालगायतले साथ दिएका छन् ।

पार्टीमा वर्षमान पुनको सक्रियता बढेको पूर्वएकताकेन्द्रका नेताहरूले मन पराएका छैनन् । पूर्वएकताकेन्द्रबाट माओवादीमा आएकाहरूको नेतृत्व नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । उनलाई गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, अमिक शेरचन, शशी श्रेष्ठलगायतले साथ दिएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा अहिले कृष्णबहादुर महरा उपप्रधानमन्त्रीका साथै अर्थमन्त्री पनि छन् । उनी पनि पार्टी अध्यक्ष प्रचण्ड र उनका किचेन क्याबिनेटका नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मासँग असन्तुष्ट छन् । उनले माओवादीमा छुट्टै गुट खडा गरेका छन् । महरालाई पूर्वगृहमन्त्री शक्ति बस्नेतलगायतको साथ छ । माओवादीमा रोल्पा र रुकुमकै भए पनि महरा र जनार्दन शर्माबीच राम्रो सम्बन्ध छैन ।

केही समयअघि मात्र मोहन वैद्य माओवादीबाट माओवादी केन्द्रमा आएका रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङलगायतकाृ छुट्टै गुट छ । माओवादी केन्द्रमा प्रवेश गरेको लामो समय भइसक्दा पनि बादलले उचित जिम्मेवारी पाएका छैनन् । देव गुरुङ त पार्टीका गतिविधिबाटै हराइसके । पम्फालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । बादल प्रचण्डसँग नजिक हुन खोज्नेवित्तिकै वर्षमान पुनले भाँजो हाल्ने गरेको नेताहरू बताउँछन् ।

प्रचण्डले बादललाई ल्याउन लागेपछि महराको गुट जन्म भएको बताइन्छ । महरा वर्षमान पुन र जनार्दन शर्मा दुवैलाई मन पराउँदैनन् । उनी आफू प्रचण्डपछिको नेता बन्न चाहन्छन् । महरा र जनार्दनको विवादले शक्तिबहादुर बस्नेत केपी ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री बन्न सफल भएको एक माओवादी नेताले बताए ।

अहिले माओवादीभित्र प्रचण्डका लागि सबैभन्दा ठूलो चुनौती टोपबहादुर रायमाझी बनेका छन् । ओली सरकारमा उपप्रधानमन्त्री रहेका रायमाझी आफ्नो पद खुस्केकोमा प्रचण्डसँग रुष्ट छन् । सोही कारण संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ का जिल्ला ४ नम्बर प्रदेशमा हालेको भन्दै रायमाझीले सरकारलाई असहयोग गर्ने चुनौती दिएका हुन् । रायमाझी अहिले एमालेसँग निकै निकट छन् ।

पार्टीभित्रका पाँचवटा गुटका कारण पनि प्रचण्डले अहिले कुनै पनि गम्भीर निर्णय गर्न नसकेको बालुवाटार स्रोतले जानकारी दियो ।

Post a Comment

Previous Post Next Post