आगामी चार वर्षभित्र १० वटा मुलुकमा फ्याक्ट्री खोल्ने
हेलिकप्टरले चौधरी उद्योग ग्रामको दुई चक्कर लगायो। तल पूर्व–पश्चिम राजमार्ग किनारमा बाक्लो जंगललाई छेउ पारेको औद्योगिक संरचना फराकिलो देखिन्छ। बीचमा हरियो घाँसे गल्फ मैदान लमतन्न छ। विनोद चौधरी हेलिकप्टर पाइलटलाई गल्फ मैदानमा बनेको हेलिप्याडतिर इसारा गर्छन्। माघ पहिलो साता, मध्याह्न पारिलो घाममा नवलपरासीको दुम्कौली न्यानो छ। उनी काठमाडौंबाट लगभग आधी घन्टा उडेर एकदिनलाई यहाँ आएका हुन्। साथमा जेठा छोरा निर्वाण पनि छन्। उनको दिनभरिको शृंखलाबद्ध मिटिङ पहिल्यै तय छ। सबभन्दा पहिला भेट्दै छन् दुई जना इञ्जिनियरलाई, जो साउदी अरेबियाबाट आएका हुन्। उनी अघिल्लो साता साउदीमै थिए। त्यहाँ दमास्कस भन्ने ठाउँमा नयाँ वाइवाइ प्लान्ट लगाउँदै छन्। साउदी सरकारले मरुभूमिमा जग्गा छुट्टयाएर दिइसक्यो। स्थानीय साझेदारसँग सम्झौता गरिसके। त्यसैका लागि प्राविधिक कुरा बुझ्न आएका हुन्, अहमद अली र वायल। ‘लन्च–मिटिङ’ मा अहमदले साउदी प्लान्टको खाका पेस गरे। मार्चमा निर्माण थालेर एक वर्षभित्र सञ्चालनमा ल्याउने योजना सुनाए। ‘अझै एक वर्ष !’ चौधरीका आँखीभौं तन्किए। ‘एक वर्ष त कम्तीमा लाग्छ सर,’ अहमदले भने, ‘यहाँको प्लान्ट हेर्दा हाम्रो नक्सामा अलिकति समस्या देखियो। नयाँ ढंगमा डिजाइन गर्नुपर्छ।’ ‘हाम्रो सर्बियाको प्लान्ट पूरा भइसक्यो, तपाईंहरू हेर्ने भए गए हुन्छ,’ चौधरीले भने, ‘म साउदी, सर्बिया र बंगलादेशमा यही वर्षभित्र प्लान्ट खोल्न चाहन्छु। सकिन्छ कि सकिन्न ?’ ‘साउदीमा त गाह्रो होला सर।’ ‘ढिलोमा कहिले त ?’ ‘अर्को वर्ष (सन् २०१८) अप्रिलको टार्गेट राखुँ न।’ चौधरी व्यग्र देखिए। उनको व्यग्रताको कारण छ। नेपालका यी एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपतिले वाइवाइलाई ‘विश्वव्यापी कम्पनी’ का रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्य उभ्याएका छन्। उनी यसैको निम्ति अन्तर्राष्ट्रिय विस्तारको तीव्र दौडाहामा छन्। अहिलेसम्म ३० वटाभन्दा बढी देशमा वाइवाइको बिक्री विस्तार भएको छ। अब चार वर्षभित्र १० वटा देशमा प्लान्ट नै खोल्ने उनको लक्ष्य छ। ‘हामी वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने प्रक्रियामा छौं,’ उद्योग ग्रामको शृंखलाबद्ध मिटिङकै बीचमा सेतोपाटीसँग कुरा गर्दै चौधरीले भने, ‘हामीसँग वाइवाइको अन्तर्राष्ट्रिय ‘रोडम्याप’ तयार छ। सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु हुनेछ।’ सर्बिया, साउदी र बंगलादेश त्यही अन्तर्राष्ट्रिय रोडम्यापको पहिलो कडी हो। रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्यामा पनि विभिन्न चरणमा काम भइरहेको उनी बताउँछन्। चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तर्राष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट लगाउने तयारी गर्दैछन्। उता, भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो। राजस्थानमा नयाँ प्लान्ट राख्ने तयारी अन्तिम चरणमा छ। यही आक्रामक बजार विस्तारका कारण चार वर्षअघिको तुलनामा वाइवाइ उत्पादन साढे दुई गुणा वृद्धि भइसक्यो। चार वर्षअघि वार्षिक उत्पादन १ अर्ब प्याकेट थियो। अहिले वार्षिक करिब २ अर्ब ५० करोड प्याकेट उत्पादन हुने कम्पनीले जनाएको छ। यो विश्व बजारको साढे २ प्रतिशत हो। वाइवाइको वार्षिक नाफा कति हुन्छ, हामीले सोधेनौं। उनले बताएनन्। एक प्याकेटमा एक रुपैयाँ मात्र नाफा भयो भने वाइवाइले वार्षिक साढे दुई अर्ब कमाउँछ। प्रत्येक प्याकेटमा दुई रुपैयाँ फाइदा हुने हो भने वार्षिक ५ अर्ब! अझ सन् २०२० सम्ममा त यसलाई अहिलेको दोब्बर बनाउने उनको लक्ष्य नै छ। ‘सन् २०२० सम्म वार्षिक ५ अर्ब प्याकेट उत्पादन गरेर विश्व बजारको ५ प्रतिशत हिस्सा ओगट्ने हाम्रो लक्ष्य छ,’ चौधरीले भने, ‘त्यसपछि बल्ल हामी विश्व्यापी ब्रान्डका रूपमा चिनिने छौं।’ वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने रनाहाले चौधरीलाई यतिसम्म छोपेको छ, उनी अचेल वर्षको छ महिनाभन्दा बढी विदेश भ्रमणमै हुन्छन्। बढ्दो व्यावसायिक कदसँगै ओइरिन थालेको अन्तर्राष्ट्रिय सम्मेलनहरूको निम्तो मान्न उनलाई उत्तिकै भ्याइनभ्याई छ। यसले उनको व्यापारलाई सघाएको पनि छ। उनी विभिन्न देशको सम्मेलनमा जाँदा त्यहाँका व्यावसायिक समूह तथा राजनीतिक नेताहरूसँग सम्पर्क बढाउँछन्। त्यही सम्पर्क सञ्जाल पछ्याउँदै अन्तर्राष्ट्रिय विस्तारलाई अघि बढाइरहेका छन्। सर्बिया योजनाको सुरुआत त्यस्तै एउटा सम्मेलनबाट भएको थियो। ‘होरासिस’ भन्ने स्वतन्त्र अन्तर्राष्ट्रिय व्यावसायिक संगठन छ। वर्ल्ड इकोनोमिक फोरमकै ढाँचामा बनेको यो संगठनमा एसियादेखि युरोप–अमेरिकाका धेरै व्यवसायी आबद्ध छन्। चार वर्षअघिको कुरा हो। बेल्जियमको एन्टवर्प भन्ने ठाउँमा होरासिसको ‘ग्लोबल इन्डिया बिजनेस मिटिङ’ हुँदै थियो। चौधरी त्यसमा भाग लिन गएका थिए। सम्मेलन क्रममा ‘लियाना’ नाम गरेकी स्लोभेनियन महिलासँग उनको भेट भयो। लियाना ‘इन्भेस्टमेन्ट बैंकर’ थिइन्। लगानीकर्तालाई नयाँ परियोजना सुरु गर्न मद्दत गर्नु उनको काम थियो। नयाँ ठाउँमा नयाँ सम्पर्क बनाएर अवसर खिप्न सिपालु चौधरीले त्यही बेला लियानालाई आफ्नो सपना सुनाए। भने, ‘म युरोपमा वाइवाइ प्लान्ट खोल्न चाहन्छु।’ त्यति बेला उनको योजनाले मूर्तरूप लिन सकेन। ‘मैले त्यो सपना मर्न भने दिइनँ,’ उनले भने, ‘जब–जब युरोप पुग्थेँ, त्यो सपनाले मभित्र हुटहुटी जगाउँथ्यो।’ त्यही क्रममा गत वर्ष विश्वका अर्बपतिहरूको भेलामा भाग लिन उनी मोन्टेनिग्रो गएका थिए। मोन्टेनिग्रो पुग्दा उनले उही लियानालाई सम्झे। कार्यक्रम सकेर लियानालाई भेट्न स्लोभानिया गए। यसपालि उनी आफ्नो अधुरो सपना पूरा गर्न बढी नै व्यग्र थिए। ‘यो वर्ष मलाई जसरी भए पनि युरोपको कुनै देशमा वाइवाइ प्लान्ट राख्नुछ,’ उनले लियानालाई भने। लियाना मद्दत गर्न तयार भइन्।
दुवैले केही समय युरोपका विभिन्न मुलुक चहारे। प्रत्येक देशमा पुग्दा चौधरी त्यहाँको श्रम लागत, बजार सम्भावना र सरकारको औद्योगिक नीति मिहिन केलाउँथे। उनलाई त्यस्तो देशको खोजी थियो, जहाँ प्लान्ट राख्दा लागत प्रतिस्पर्धी भइन्छ र युरोपका अरू बजारमा सहज रूपले वाइवाइ विस्तार गर्न पनि सकिन्छ। उनलाई सर्बिया सबभन्दा उपयुक्त लाग्यो। ‘युगोस्लाभिया टुक्रेर बनेका देशमध्ये सर्बिया राजनीतिक रूपले स्थिर र आर्थिक रूपले बलियो छ,’ चौधरीले भने, ‘यो युरोपेली संघ (इयू) को सदस्य होइन, तर सदस्य बन्ने तर्खरमा छ। रुससँग त खुला बजार सम्झौता नै छ। भौगोलिक रूपले पनि युरोपको छातीमै बसेको छ। यहाँबाट रुसदेखि अस्ट्रिया, इटाली, टर्कीजस्ता युरोपका अरू धेरै देशमा सजिलै पुग्न सकिन्छ।’ यति मात्र होइन, सर्बियाको श्रम लागत भारतको तुलनामा दोब्बर मात्र छ भने युरोपका अन्य देशको दाँजोमा एकचौथाइ छ। यति धेरै सम्भावना देखेपछि चौधरी तुरुन्तै सक्रिय भइहाले। इन्भेस्टमेन्ट बैंकर लियाना त साथमा छँदै थिइन्। उनीजस्तै अन्य बैंकरका माध्यमबाट चौधरीले सर्बिया सरकारसम्म पहुँच बनाए। आफ्नो योजना सुनाए। र, लगानीको प्रस्ताव राखे। नयाँ देशमा लगानीको प्रस्ताव लिएर जाँदा अचेल उनलाई ‘फोर्ब्स’ को खिताबले निकै सहयोग गर्छ। अर्बपति व्यापारी भनेपछि जुनसुकै देशका सरकार र निजी क्षेत्रले पत्याउँछन्। प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्न पहिलेजस्तो सकस हुँदैन। सर्बियामा त्यस्तै भयो। उनले प्रधानमन्त्री, मन्त्री र बैंकरहरूलाई सजिलै भेटे। नेगोसियसन सुरु भयो। चौधरीले शतप्रतिशत आफ्नै स्वामित्वमा उद्योग चलाउने प्रस्ताव राखे। उनीहरू तयार भए। सरकारबाट पाइने सहुलियतको कुरा पनि झिके। सर्बिया सरकार निःशुल्क जग्गासहित कुल लगानीको करिब ५० प्रतिशत नगद अनुदान दिन तयार भयो। उसको एउटा सर्त थियो। चौधरीले त्यसको बदलामा त्यहाँका चार सय जनालाई रोजगार दिनुपर्थ्यो। एक जनालाई चार वर्ष रोजगार ग्यारेन्टी गरे १० हजार युरो पाइन्थ्यो। यसको मतलब, चार सय जनालाई चार वर्ष रोजगार दिँदा ४० लाख युरो पाइने भयो। ‘सर्बिया सरकारको प्रस्ताव आकर्षक पनि थियो, चुनौतीपूर्ण पनि,’ चौधरीले भने, ‘कुल ९० लाख युरोको परियोजनामा ४० लाख नगद अनुदान पाएपछि हाम्रो लागत आधा कम हुन्थ्यो। तर, चार सय जनालाई चार वर्ष रोजगारको ग्यारेन्टी गर्नु सजिलो थिएन। उद्योग चले पनि नचले पनि उनीहरूको आर्थिक भार हामीले बोक्नुपर्छ। चलाउन सकेनौं भने चार सय जनाको तलबले नै हामीलाई खत्तम पार्छ।’ अवसरसँगै आएको यो चुनौतीलाई चौधरीले राम्ररी केलाए। उनले सोचे, युरोपमा प्लान्ट नलगाई बाहिरबाट आपूर्ति गर्न सम्भव छैन। त्यसको लागत यति धेरै पर्छ, कम्पनीले धान्नै सक्दैन। यहाँ कुनै एउटा देशमा प्लान्ट लगाएपछि जुनसुकै ठाउँमा उत्पादन पुर्याउनु ठूलो कुरा होइन। प्लान्ट बन्दाबन्दै युरोपभरि वितरण सञ्जाल बनाउनसके एक वर्षभित्रै पूर्ण क्षमतासाथ कारखाना चलाउन सकिन्छ। त्यसमाथि सर्बिया त भौगोलिक रूपले पनि चारैतिर फैलिन सजिलो हुने ठाउँमै छ। उनलाई आफ्नो लगन र टिमको क्षमताप्रति भरोसा थियो। र, त्योभन्दा बढी भरोसा थियो, वाइवाइप्रति। ‘वाइवाइको स्वाद नै यस्तो छ, एकचोटि चाखेपछि बानी पर्छ,’ चौधरीले भने, ‘मैले यही विश्वासका आधारमा सर्बिया सरकारको प्रस्ताव स्वीकार गरेँ।’


Post a Comment