काठमाडौं, १० माघ । नेपाल प्रहरीमा रिक्त सातजना एसएसपीका लागि गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच अझै सहमति हुन सकेको छैन । २ फागुनमा सेवा अवधिका कारण बिदा हुन लागेका आईजीको खल्तीमा एउटा लिस्ट र गृहमन्त्रीको खल्तीमा अर्को लिस्ट भएपछि उनीहरूबीचको असहमतिले अझै बढुवा हुन नसकेको हो ।मन्त्री र आईजीले अलग–अलग नाम गोजीमा बोकेर हिँडेका छन् । मन्त्री निधिले वरिष्ठ र व्यावसायि भन्दा पनि कनिष्ठ र मधेसका अनुहारलाई बढी च्यापेकाले व्यावसायिक अफिसर बढुवामा छुट्ने दाबीसहित आईजीपीले अर्कै लिस्ट तयार पारेपछि समस्या उत्पन्न भएको हो ।
गत भदौमा एसएसपी राजेन्द्र श्रेष्ठ, मंसिर २९ मा विक्रमसिंह थापा, भूपाल भण्डारी र रोमेन्द्रसिंह देउजा उमेरहदका कारण अवकाश भएपछि एसएसपीमा चारवटा पद रिक्त भएका छन् । पुसको पहिलो साता रमेश भट्टराई, केदारमानसिंह भण्डारी र गणेश केसी डीआईजीमा बढुवा भएपछि एसएसपीको रिक्त दरबन्दी सातवटा पुगेको छ । त्यो लटमा बढुवा हुन छुटेका लव विष्ट र योगेश्वर रोमखामी पुस १६ मा एसएसपीको पदावधि सकिएर अवकाश भएपछि रिक्त एसएसपीको दरबन्दीको संख्या नौ पुगेको थियो ।
तर, रिक्त दरबन्दीमध्ये अख्तियारको र एमटी (सवारी) को दरबन्दी काटिएको छ । बाँकी सात एसएसपीको दरबन्दीका लागि अहिले १७–१८ जना एसपी दौडका रहेका छन् । तर, मन्त्री निधि र आईजी अर्यालको कुरा नमिल्दा बढुवा रोकिएको छ । यसले गर्दा प्रहरीको वृत्ति विकासमा समेत असर परेको छ ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री निधिले एसपीहरू राजेशलाल कर्ण, दिलीप चौधरी र रामकृपाल साहलाई जसरी पनि एसएसपी बढुवा गने अड्डी लिएर बसेका छन् । वरिष्ठताका हिसाबले कर्ण तेस्रो नम्बरमा पर्ने भए पनि चौधरी र साह कनिष्ठ हुन् । आईजी अर्यालले भने ईश्वरबाबु कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल र प्रद्युम्न कार्कीलाई जसरी पनि बनाउने भन्दै नाम बोकेर हिँडेको बताइन्छ ।
उता वरिष्ठताका हिसाबले पहिलो नम्बरमा सञ्जय शर्मा छन् भने दिलेन्द्र श्रेष्ठ, चिरञ्जीवी देवकोटा, दिलीप बस्नेत, शैलेश थापा, रुवीन्द्रनाथ रेग्मीहरू अगाडि रहेका छन् । कनिष्ठ भए पनि आईजी अर्यालले बोकेका एसपीहरू व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् ।
Post a Comment